सेयर लगानीकर्ता निराश

पत्रपत्रिकाबाट

शुक्रबार, २६ कार्तिक २०७८, ०८ : ५८
सेयर लगानीकर्ता निराश

काठमाडौं । अर्थतन्त्रका सूचकहरु नकारात्मक हुन थालेपछि सेयरका लगानीकर्ता निराश देखिन थालेका छन् ।

बैंक तथा वित्तीय संस्थामा देखिएको तरलताको संकटले ल्याएको लगानीयोग्य रकमको संकुचन र नियामक निकायका नीतिले गर्दा अर्थतन्त्रको ऐना मानिने सेयर बजारमा निरन्तर गिरावट आइरहेको छ ।

तिहार विदापछि खुलेको बजार यो साताभर लगातार ओरालो लाग्यो । कात्तिक १७ गते २८४८ अंकमा पुगेर बन्द भएको सेयर बजार सूचक (नेप्से) कात्तिक २५ गते बिहिबार २६९० अंकमा झरेको छ । साताभरमा तीन दिनको कारोबारमा बजार एक सय ५८ अंकले घटेको छ ।

कोभिडको महामारी र निषेधाज्ञाको अवधिमा पनि खुल्ला रहेको सेयर बजार आम सर्वसाधारणदेखि उद्योगी व्यवसायीका लागि लगानी गर्ने उपयुक्त ठाउँ बनेको थियो । जसको कारण साउन अन्तिममा नेप्से सूचक ३२ सय अंकमा पुगेर रेकर्ड बनाएको थियो ।

पछिल्लो समयमा नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंकलगायत नियामक निकायले लिएका नीति र देशका आर्थिक सूचकहरु समेत नकारात्मक हुँदा सेयर बजारमा नकारात्मक प्रभाव परिरहेको छ ।

कोभिड महामारीमा राम्रो वित्तीय सूचक नभएका कम्पनीको समेत सेयर मूल्यमा अस्वभाविक चलखेल भएको भन्दै नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त ५१ कम्पनीको नाम सार्वजनिक ग¥यो । जसका कारण केहि दिन सेयर बजार प्रभावित हुन पुग्यो ।

यसैगरी कोभिड महामारीमा लगानी विस्तार गर्न नसकेका बैंक तथा वित्तीय संस्थाहरु आफैं सेयर कारोबारमा सक्रिय हुन थालेपछि राष्ट्र बैंकले अल्पकालिन सेयर कारोबारमा कडाइ ग¥यो । यसैगरी चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा कडाइ गर्ने उद्देश्यले एक व्यक्तिले अधिकतम ४ वटा बैंक तथा वित्तीय संस्थाबाट १२ करोडसम्म मात्र सेयर धितो कर्जा लिन सक्ने व्यवस्था गरेको छ । कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस