कोरोनाबाट ५० लाखभन्दा बढीको मृत्यु भएपछि राष्ट्रसंघले भन्यो– खोप सबैलाई दिइयोस

रासस

मंगलबार, १६ कार्तिक २०७८, १३ : १६
कोरोनाबाट ५० लाखभन्दा बढीको मृत्यु भएपछि राष्ट्रसंघले भन्यो– खोप सबैलाई दिइयोस

एजेन्सी । विश्वमा कोरोना भाइरसको प्रकोपबाट मृत्यु हुनेको संख्या ५० लाख नाघेको बताइएको छ । गएको करिब दुई वर्षयता यो भाइरसको प्रकोप सुरु भएको थियो । त्यसैले यस्तो अवस्थामा विश्वका नागरिकलाई यस भाइरसका विरुद्धको खोप सहज र सुलभ रुपमा उपलब्ध हुनुपर्ने संयुक्त राष्ट्रसंघले जनाएको छ । 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले कोरोना भाइरसविरुद्धको खोप वितरण समान नहुँदा संसारका नागरिकले ज्यान गुमाउनुपरेको बताएका छन् । उनले भने विश्वका धनी भनिएका देशहरुले कोरोना भाइरसको तेस्रो मात्रा लगाउने तयारी गर्दैछन् तर पनि यहाँ अफ्रिकामा भने पाँच प्रतिशत मात्र नागरिकहरुले पूर्ण खोप लिएका छन् । 

उनले यो संसारकै लागि लाजमर्दो अवस्था हो भनेका छन् । उनले यो महामारीले विश्वलाई नै उत्तिकै असर गरिरहेकाले सबै देशहरुले यो खोपको उपलब्धतामा समान व्यवहार अपनाउनुपर्नेमा जोड दिए । महासचिव गुटेर्रेसले हाल विश्वमा कोरोना भाइरसका विरुद्धको खोप उत्पादन र वितरणका क्षेत्रमा काम गरिहेका देशहरुलाई विशेषगरी खोपको समानतामा काम गर्न आग्रह गरे । 

महासचिव गुटेर्रेसले भने ‘म विश्वका धनी देशहरुलाई यो आग्रह गर्दछु कि खोप यो महामारी विरुद्धको एकमात्र उपाय भएकाले यसमा सबैको पहुँच पु¥याउन सकियोस् ।’ उनले अहिले पनि खोपको वितरण त भइरहेको छ र विश्वका सबैजसो देशमा यो पुगेको छ भन्दै तर पनि नागरिकलाई समान रुपमा भने वितरण गरिएको छैन, त्यसैले अहिलेको प्रयासलाई अरु धेरै बढाउनुपर्ने अवस्था भएको बताए । 

अहिले यो खोप  धनी देश र मध्यमबर्गीय देशहरुमा पुगेको तर पनि गरिब तथा तेस्रो विश्वमा पुग्न नसकेको बताए । यस्तो अवस्थामा विश्वलाई नै कोरोना भाइरसको महामारीबाट बचाउन र त्यसका लागि विश्वका सबै देशका नागरिकमा खोप उपलब्ध गराउन उनले आग्रह गरे । 

यो महामारीबाट विश्वका पचास लाखभन्दा बढी नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था दुःखद भएको भन्दै अहिले पनि मानव जातिसँग यो महामारीका विरुद्धमा लड्ने एक प्रभावकारी उपाय खोपमात्र रहेकोतर्फ सबैले बुझ्नुपर्ने उनले बताए ।(सिन्ह्वा)