‘राज्य व्यवस्थालाई समाजवाद उन्मुख गराउन स्वास्थ्य र शिक्षा क्षेत्रको सम्पुर्ण जिम्मेवारी राज्यले लिनुपर्छ’ : प्रचण्ड

सफल खबर संवाददाता

शुक्रबार, १२ कार्तिक २०७८, ०९ : ४७
‘राज्य व्यवस्थालाई समाजवाद उन्मुख गराउन स्वास्थ्य र शिक्षा क्षेत्रको सम्पुर्ण जिम्मेवारी राज्यले लिनुपर्छ’ : प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं चितवन निर्वाचन क्षेत्रका प्रतिनिधीसभा सदस्य पुष्पकमल दाहाल (प्रचण्डले) आधारभूत स्वास्थ्य र  शिक्षा सेवा नागरिकको नैसर्गिक अधिकार भएकोले यसको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने बताएका छन् । 

उनले यसो गर्दा मात्र राज्य व्यवस्था समाजवाद उन्मुख हुने उल्लेख गरेका छन् ।  पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ चितवनले आयोजना गरेको ‘चितवनको स्वास्थ्य सरोकारमा क प्रचन्ड’ बिषयक अन्र्तक्रियालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । 

सो अवसरमा अध्यक्ष प्रचण्डले स्वास्थ्य र शिक्षा क्षेत्रलाई नागरिकको सहज पहुँचमा ल्याउन सघन छलफल भईरहेको भन्दै यस बिषयमा छिट्टै नतिजा निस्कने समेत बताए । भरतपुर मेडिकल सिटिको रूपमा बिकसित हुँदै गएको बताउदै उनले यो क्षेत्रलाई अझै व्यवस्थित बनाउन सरोकारवाला एकजुटु हुनुपर्नेमा जोड दिए । 

भरतपुर अस्पताललाई केन्द्रिय अस्पतालमा स्तरोन्नती गरिएको बताउदैं उनले सोहि बमोजिम यस अस्पतालको भौतिक पूर्वाधार विकास र विस्तारमा ध्यान दिने बताए । उनले विपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानको रूपमा बिकास गर्ने बिषय छलफलमै रहेको र छिट्टै टुंगिने विश्वास समेत व्यक्त गरे । उनले भने–‘‘मैले निजी स्वास्थ्य संस्थाहरूका समस्याहरू पनि सुने, विद्यार्थी भाईबहिनीहरुका समस्या पनि सुने, स्वास्थ्यकर्मी र सरकारी स्वास्थ्य केन्द्रहरूको समस्या पनि सुने, यि सबै समस्याहरू जायज छन् । म यो समस्या सरकारका मन्त्रिहरूसंग सामुहिक रूपमा छलफल गरी परिणाम आउने काम अगाडी बढाउछु ।’ उनले यो काम काठमाडौं पुग्ने बित्तिकै छलफल गरि अगाडी बढाउने विश्वास समेत दिलाए ।  

कार्यक्रममा भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले भरतपुरका स्वास्थ्य क्षेत्रका सम्भावना र चुनौतीहरुकाका बारेमा प्रचण्डलाई जानकारी गराउदै भरतपुर अस्पताललाई मेडिकल कलेज सहितको विशेषज्ञ अस्पतालको रूपमा विकास गर्न आग्रह गरेका थिए ।
सोही अवसरमा पार्टी स्वास्थ्य विभागका अध्यक्ष कल्पना धमलाले स्वास्थकर्मी र स्वास्थ्य संस्थाहरूको जायज समस्याहरूलाई उचित ढंगले हल गर्दै लैजान पार्टी क्रियाशिल रहेको बताई्न । उनले स्वास्थ्य र शिक्षा क्षेत्र नागरिकको पहुँच बाहिर जाँदै गरेकोमा चिन्ता व्यक्त गर्दै भनिन्,‘यसलाई रोक्दै नागरिकको पहुँँच भित्र ल्याउन शिक्षा र स्वास्थ्य क्षेत्रको जिम्मा राज्यको हुनुपर्छ ।’

अन्र्तक्रिया बोल्दै निजी अस्पताल समन्वय समितिका अध्यक्ष डा. नारायण सिंह कुँवरले राज्यका ऐन कानुनहरूका कारण निजी स्वास्थ्य संस्थाहरुले पाईला पिच्छे  समस्याहरू झेल्नु परेको बताउदै ऐन नियमहरू समय अनुकुल परिमार्जन हुनुपर्नेमा जोड दिए । उनले यसका लागि पहल गरिदिन अध्यक्ष प्रचण्डसंग आग्रह गरे । कार्यक्रममा अस्पतालका विभिन्न विभागिय प्रमुख, विद्यार्थी, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आआफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस