एएफसी यू–२३ एसियन कप छनोट : नेपाल इरानसँग पराजित

सफल खबर संवाददाता

मंगलबार, ०९ कार्तिक २०७८, ०७ : २३
एएफसी यू–२३ एसियन कप छनोट : नेपाल इरानसँग पराजित

काठमाडौं । ताजकिस्तानमा जारी एएफसी यू–२३ एसियन कप छनोटको पहिलो खेलमा नेपाल पराजित भएको छ। ताजकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा सोमबार भएको खेलमा नेपाल बलियो प्रतिद्वन्द्वी इरानसँग ४–० गोलले पराजित भएको हो।

पहिलो हाफमा इरानलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा भने चार गोल आएको थियो। नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले गोलरक्षक अर्पण कार्कीको कप्तानीमा अनुभवी टोलीलाई मैदान उतारेका थिए। आयुष घलान, मनिष डाँगी र अभिषेक रिजाललाई स्ट्राइकरमा उतारेको थियो। उनीहरु तीनै जना सिनियर टोलीका सदस्य पनि हुन्। 

यसैगरी मिडफिल्डरमा रोशन पहारी, सेसेहाङ आङदम्बे र एरिक विष्टलाई प्रारम्भिक टोलीमा मैदान उतारिएको थियो। डिफेन्डर सुरज ठकुरी, सुमन अर्याल, गौतम श्रेष्ठ र अभिषेक लिम्बू थिए। ठकुरी, अर्याल र श्रेष्ठ पनि सिनियर टोलीकै सदस्य हुन्। अनुभवी युवा टोलीले इरानलाई पहिलो हाफसम्म गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा इरान पूर्ण रुपमा हावी भएको थियो। 

यस जितसँगै समूह ‘बी’मा रहेको इरानले तीन अंक जोडेको छ। इरान समूहको शीर्ष स्थानमा रहेको छ। नेपालले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ। नेपालले अब दोस्रो खेलमा घरेलु टोली ताजकिस्तानसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ। त्यस्तै अन्तिम खेलमा लेबनानसँग आइतबार खेल्नेछ। 

प्रतिक्रिया दिनुहोस