निर्वाचन भएको ४ वर्ष पछि नयाँ वडाध्यक्ष निर्वाचित

पत्रपत्रिकाबाट

सोमबार, ०८ कार्तिक २०७८, ०७ : ४१
निर्वाचन भएको ४ वर्ष पछि नयाँ वडाध्यक्ष निर्वाचित

जनकपुर । दुई मतले विजयी घोषित हुँदा स्वतन्त्र उम्मेदवार रमेशकुमार रायलाई हर्षभन्दा बढी अन्योलले घेरेकोजस्तो भान भयो । बधाई दिनेलाई पनि उनी खुलेर धन्यवाद भन्न सकिरहेका थिएनन् । ‘अहिले जित घोषणा गरेर मलाई न्याय भयो कि अन्याय आफैं दोधारमा छु,’ रायले आफ्ना शुभचिन्तकसँग यति मात्रै भनिरहे । 

‘ढिलो न्याय दिनु नदिनुसरह हो’ भन्ने विधिशास्त्रीय मान्यताको एक ताजा भुक्तभोगी हुन् महोत्तरीको मनरा शिशवा नगरपालिका–१० का नवनिर्वाचित वडाध्यक्ष राय । स्थानीय तहको निर्वाचन सकिएको ४ वर्षपछि गरिएको पुनः मतगणनामा उनी निकटतम प्रत्याशीभन्दा दुई मत बढी ल्याएर विजयी घोषित भएका हुन् ।

घोषणा आइतबार भएको हो । प्रदेश २ मा २०७४ असोज २ मा तेस्रो चरणमा स्थानीय तहको निर्वाचन भएको थियो । वडाध्यक्षमा राय र कांग्रेसका अरुणकुमार चौधरीबीच दह्रो प्रतिस्पर्धा थियो ।

मतदानको ५ दिनपछि चौधरी र रायले बराबरी २६६ मत पाएको गणकले सार्वजनिक गरेका थिए । मत बराबर भएपछि नतिजाका लागि दुवैबीच गोलाप्रथा गरियो । स्वतन्त्र उम्मेदवार रायलाई चित्त बुझिरहेको थिएन । गोलामा चौधरी विजयी घोषित गरिए । पहिलो मतगणनाको अन्तिमतिर जेनेरेटर बन्द गरेर मत ‘दायाँबायाँ’ गरेको देखेका रायलाई गडबडी गरिएको शंका थियो ।

उनले उच्च अदालत जनकपुरमा १५ दिनभित्र पुनः मतगणनाको माग गर्दै रिट दायर गरे । मुख्य निर्वाचन अधिकृतको कार्यालय जलेश्वरविरुद्ध उनले हालेको रिटमा सुनुवाइ गर्दै उच्चले पुनः मतगणनाको आदेश दियो तर मुद्दाको पुनरावेदन सर्वोच्चमा पुग्यो । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस