छिट्टै उच्च तहको भ्रमण हुन्छ : डा. प्रकाशशरण महत

सफल खबर संवाददाता

मंगलबार, ०२ कार्तिक २०७८, १६ : १७
छिट्टै उच्च तहको भ्रमण हुन्छ : डा. प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले छिट्टै नेपाल र भारतबीचमा  उच्चस्तरीय राजनीतिक भ्रमण हुने बताएका छन् । मंगलबार बिहान रेडियो कान्तिपुरको द हेडलाइनर्स कार्यक्रमकी सञ्चालिका पार्वतालाई दिएको अन्तर्वार्तामा उनले सो कुरा बताएका हुन् ।

भारतसंगको सम्बन्धलाई अझ सुमधुर बनाउन सरकारी स्तरबाट पनि कुनै पहल होला कि भन्ने प्रश्नको जवाफमा उनले भने,“अवश्य पनि हुने नै छ । अहिले रेल्वे वार्ता भएको छ । सीमा सुरक्षा छलफल सुरु भएको छ । विषयगत र विभागीय छलफलहरुले स्वरुप लिएपछि उच्च तहको वार्ता हुनेछ ।”

सहमहामन्त्री डा. महतले भारतीय जनता पार्टीको विदेश विभागका प्रमुखको मैत्रीपूर्ण निमन्त्रणमा आफ्नो नेतृत्वमा गएको प्रतिनिधि मण्डलले नेपाल र भारतको सम्बन्ध सुमधुर बनाउने कार्य गरेको बताए । उनले नेकपा एमालेको नेतृत्वमा रहेको पूर्ववर्ती सरकारले भारतसंग देखिएका समस्यालाई सडकमा पसार्ने गरेको तर आवश्यक ठाँउमा “चूँ” पनि नबोलेको बताउँदै नेपाली कांग्रेसले वार्ताको माध्यमबाट समाधान खोज्ने नीति लिएको पनि दावी गरे ।

राष्ट्रहरुबीचको सम्बन्ध सुधारमा परराष्ट्र मन्त्रालय अग्रसर हुनुपर्नेमा राजनीतिक दल अग्रसर भएको भन्ने प्रश्नको जवाफ दिंदै उनले भने, “निश्चय नै द्धिपपक्षीय हितका विषयमा कुरा उठाउने, राष्ट्रिय स्वार्थ र आवश्यकताका विषय पहिचान गर्ने छलफल गरेर निष्कर्षमा पु¥याउने काम परराष्ट्र मन्त्रालय र सरकारको हो । तर जिम्मेवार राजनीतिक दलका जिम्मेवार पदाधिकारीहरुको भेटवार्तामा राष्ट्रिय चासो र चिन्ताका कुरा उठ्नु स्वभाविकै हो । यसबाट अलग हुन सकिदैन ।”

उनले पूर्ववर्ति सरकारले संविधान उल्लंघन गर्दै अधिनायवादी शैलीमा राज्य संचालन गर्न खोजेपछि संविधान र लोकतन्त्रको संरक्षण गर्नका लागि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेको पृष्ठभूमि उल्लेख गर्दै यसप्रति भारत चिढिनुपर्ने कुनै कारण नदेखेको बरु सद्भाव नै रहेको बताए ।

नेपाल र भारतबीच देखिएको सीमा विवाद (लिपुलेक कालापानी र लिम्पियाधुरा) को बारेमा सोधिएको प्रश्नमा उनले सीमा सम्बन्धी कुरालाई बूँदागत रुपमा उठाएको बताए । उनले भने, “सीमासम्बन्धी विषय रातारात समाधान हुने कुरा होइन । तर छलफलमा  नबसी यसको समाधान पनि निस्कदैन । छलफलबाट साझा निष्कर्ष निस्कन्छ । छलफल अगाडि बढाउनुपर्छ ।”

तुइन प्रकरणको सम्बन्धमा सोधिएको प्रश्नमा उनले यो विषय आफूले भारतीय विदेश मन्त्री र भाजपाका नेताहरुसंग खुलस्त राखेको बताउदै भने, “हेर्दा सानो लागे पनि यो विषय नेपाली नागरिकहरुको भावनासंग जोडिएको छ । माथिको निर्देशन होइन तलबाटै जान अन्जानमा भएको गल्तीले यस्तो भएको हुनसक्छ । हामीले आफ्नो तर्फबाट जाँच गरिसक्यौं । तपाईँहरुले पनि गर्नुप¥यो भनेपछि उहाँहरुले गम्भीरतापूर्वक हेर्ने बचन दिनुभएको छ ।”

उनले खोपको विषयमा पनि खुलस्त कुरा राखेको बताए । १० लाख डोज खोपको लागि नेपाल सरकारले पहिल्यै पैसा दिइसकेकोले सो खोप तत्काल आपूर्ति गर्न र आवश्यक पर्दा थप खोप दिने बन्दोबस्त गर्न गरिएको आग्रहको प्रसंग सुनाउदै उनले प्राविधिक कारणले त्यसबेला बैना भएको खोप दिन नसकिएको र अब  विगतमा रोकिएको खोप पनि दिने तथा थप आवश्यक खोप दिने व्यवस्था गरिने आश्वासन पाएको बताए ।

पार्टीगत स्तरको सम्बन्ध विस्तारको बारेमा सोधिएको प्रश्नको जवाफ दिंदै सहमहामन्त्री डा। महतले भारतीय जनता पार्टीले समान विचार राख्ने दलहरुसंग सम्बन्ध विस्तार गर्न चाहेको र लोकतान्त्रिक शासनपद्धतिप्रति प्रतिबद्ध दुवै देशका सत्तारुढ दलबीचको सम्बन्धले दुई देशको सम्बन्ध न्यानो राख्न सघाउने बताए । यस पहिले आफ्नो निमन्त्रणमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपाल भ्रमण गर्नुभएको स्मरण गराउदै सहमहामन्त्री डा.महतले चीनको कम्युनिष्ट पार्टीले नेपाल राजनीतिक दलहरुसंग भ्रमण आदानप्रदानको सम्बन्ध कायम राख्दै आएको भएपनि भारतले पहिलो पटक थालनी गरेको बताए ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसंगको भेटघाटलाई हिन्दुधर्मसंग निकट राखेर आलोचना हुन सक्ने संभावनाका बारेमा सोधिएको प्रश्नमा सहमहामन्त्री डा. महतले हिन्दु राज्य हुने नहुने विषयसंग यसको सरोकार नभएको बताए ।

उनले मुख्यमन्त्री योगी आदित्यनाथले नेपालप्रति आत्मिय भाव राखेको, नेपाल बलियो भए भारत बलियो हुन्छ भन्ने मान्यता राख्नुभएको, नेपाल विश्वासिलो मित्र हो भन्दै नेपाल र नेपालीलाई भारतले सधैं प्राथमिकता दिनुपर्छ भन्ने विचार राख्नुभएको पनि बताए ।

मुख्यमन्त्रीसंगको भेटवार्तामा आफ्नो प्रतिनिधिमण्डलले काशीमा नयाँ एक्सप्रेस वे बनाउदा त्यहाँ रहेको नेपालको ३०० बर्ष पुरानो पशुपति मन्दिरलाई क्षति नपुगोस् भन्ने विषय जानकारी गराउदा उनले अत्यन्त सकारात्मक रुपमा लिएको पनि उल्लेख गरे ।

उनले नेपालको पार्टी सञ्चालन र राज्य सञ्चालन सार्वभौमसत्ता सम्पन्न नेपाली जनताले नै गर्दैआएको उल्लेख गर्दै भने, “हामी हिन्दु र गैरहिन्दु जे छौ नेपालभित्र नै छौ ।  पार्टीको चुनाव नेपाली कांग्रेसका कार्यकर्ताको सरोकार र सहभागिताको बिषय हो । आम चुनाव पनि नेपाली जनताको मताधिकार र स्वविवेकको विषय हो ।”

नेता महतले नेपाल हिन्दु,बौद्ध,किराँत लगायत सबै धर्म र सम्प्रदायका नेपालीहरुको साझा फूलबारी रहदै आएको प्रसंग उठाउदै भने, “नेपालका सबै जातिका आफ्नै संस्कृति र परम्परा छन् । उपत्यकाको नेवार,पूर्वका राई र लिम्बू, पश्चिमका गुरुड र मगर, सबैतिर छरिएका बाहुन र क्षेत्री, थारु, मधेशी समुदाय सबैका अलग अलग संस्कति र परम्परा छन् । ती सबैको समुच्च पहिचान नेपाल हो । यिनको संरक्षण हुनुपर्छ भन्ने हाम्रो मान्यता छ ।”

सहमहामन्त्री डा. महतले भारतमा पनि नेपालमा जस्तै धर्म,संस्कृति र परम्परा रहेको उल्लेख गर्दै हिन्दु र बौद्ध धर्मका पवित्र तीर्थस्थल दुवैतिर भएको बताए ।

भारतीय जनता पार्टीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली कांग्रेसका सहमहामन्त्री डा.महतको नेतृत्वमा उदयसमशेर राणा र अजय चौरसियासम्मिलित तीन सदस्सीय प्रतिनिधि मण्डलले असोज २१ देखि २५ सम्म भारत भ्रमण गरेको थियो । प्रतिनिधि मण्डलले भारतीय जनता पार्टीका अध्यक्ष जे.पी.नाड्डा, महासचिव अरुणसिंह, भारतका विदेश मन्त्री डा.एस. जयशंकर र भाजपाका वरिष्ठ नेताहरुसंग भेट गरी बनारसको पशुपति मन्दिरको पनि अवलोकन गरेको थियो

प्रतिक्रिया दिनुहोस