कृष्णनगरमा फैलिएको झाडापखाला : हैजाको आशंका

पत्रपत्रिकाबाट

शनिबार, २३ असोज २०७८, ०७ : ५१
कृष्णनगरमा फैलिएको झाडापखाला : हैजाको आशंका

कपिलवस्तु । कृष्णनगर नगरपालिकामा फैलिएको झाडापखालाका बिरामीको दिसामा भिब्रियो कलेरा भेटिएपछि विज्ञहरूले हैजाको आशंका गरेका छन् । लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको एक जनाको दिसा परीक्षणमा भिब्रियो कलेरा अर्थात् हैजाको ब्याक्टेरिया आशंका गरिएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रयोगशाला प्रमुख डा। प्रभाकर चौधरीले बताए ।

‘थप पुष्टिका लागि सेरोटाइपिङ गर्नुपर्छ,’ उनले भने, ‘हामीकहाँ त्यस्तो परीक्षण नहुने भएकाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाएका छौं ।’ रोग पहिचान गर्न विभिन्न क्षेत्रका ५ बिरामीको दिसा मंगलबार प्रादेशिक अस्पताल प्रयोगशालामा पठाइएको थियो । ‘अहिले नै हैजा भनेर किटान गर्न हतार हुन्छ,’ प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले भने, ‘तर केही शंका भएकै कारण पुष्टिका लागि सुविधा सम्पन्न ल्याबमा पुनः परीक्षण गर्न पठाइएको हो ।’

दुई दशकदेखि स्वास्थ्य क्षेत्रमा काम गरिरहेका एक सिनियर अहेबले यो झाडापखालाको प्रकोप नभएको दाबी गरे । फिल्डमा खटिएका उनले भने, ‘झाडापखालासँग लक्षणै मिल्दैन । दिसा चौलानी पानीजस्तो छ । जुन झाडापखाला लाग्दा हुँदैन ।’ कलेरा नै हुन सक्ने उनको दाबी छ ।

प्रकोप फैलिएको क्षेत्रका चार ठाउँबाट पानीको नमुना परीक्षण गर्दा एक ठाउँमा कोलिफर्म भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ । सुखरामपुरको करिब ४० फिट गहिरो ट्युबवेलको पानीमा दुई प्रतिशत कोलिफर्म भेटिएको कार्यालय प्रमुख हेमराज पाण्डेले बताए । ‘त्यो भनेको कुनै न कुनै रूपमा पानीमा दिसा मिसियो र त्यही पानी खाएर यो समस्या भयो भन्ने हो,’ उनले भने, ‘अहिले दूषित पानी पिउनुले नै प्रकोप फैलिएको आशंका गरिएको छ ।’ प्रकोप देखिएका वडाहरूमा पिउने पानीको मुख्य स्रोत खानेपानी संस्थान बहादुरगन्जले वितरण गर्ने पानी रहेको स्वास्थ्य कार्यालय प्रमुख पाण्डेले बताए ।

प्रकोपबारे बुझ्न स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा। शशि कँडेलको नेतृत्वमा ३ डाक्टरको टोली आएको छ । कृष्णनगरमा फैलिएको झाडापखाला शुक्रबारदेखि नियन्त्रणमा आउन थालेको छ । बिरामी बिस्तारै घट्दै गएका छन् । अहिले बहादुरगन्जस्थित शिवराज अस्पतालमा ४४ जना मात्र उपचाररत छन् । शुक्रबार साँझ १ सय ११ जना डिस्चार्ज भएका छन् । अहिले अवस्था नियन्त्रणमा आएको अस्पतालका मेसु डा। मुकेश चौधरीले बताए । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस