चितवनमाथि भैरहवाको सहज जित

सफल खबर संवाददाता

सोमबार, १८ असोज २०७८, १३ : १२
चितवनमाथि भैरहवाको सहज जित

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपिएल)मा भैरहवा ग्ल्याडियटर्सले सहज जित निकालेको छ । टियु मैदानमा भएको खेलमा भैरहवाले चितवन टाइगर्सलाई ६ विकेटले पराजित गरेको हो । चितवनले दिएको १६५ रनको लक्ष्य भैरहवाले १७.५ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । 

भैरहवाका लागि ओपनर प्रदीप ऐरीले अर्धशतक पारी खेले । ऐरीले ४३ बलमा ८ चौका र ३ छक्काको सहयोगमा ७२ रन बनाए । अर्का ओपनर तमिम इकबालले ४० रनको योगदान गरे । उपकप्तान रोहित कुमार पौडेलले ६ रन बनाउँदा उपुर थंरगाले ३९ रन जोडे । आरिफ शेख र कुशल मल्लले १/१ रन बनाए । 

चितवनका लागि करिम जन्नतले दुई विकेट लिए । सागर ढकाल र भीम सार्कीले समान एक/एक विकेट लिए । 

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको चितवनले पुरा ओभर खेल्दै ८ विकेट गुमाएर १६४ रन बनाएको थियो । चितवनका लागि करिम जन्नतले सर्वाधिक ३५ रन जोडेका थिए । ओपनर मोहम्मद शाहजादले ३२ रन जोड्दा अर्का ओपनर खडक बोहरा भने १ रनमै आउट भए । 

यस्तै, भीम सार्की र देव खनालले क्रमश: १६ र ५ रन बनाए । शेकुगे प्रसन्नाले २४, राजेश पुलामी मगरले १४ रन जोडे । कमलसिंह ऐरीले ७ रन बनाउँदा कप्तान दीलिप नाथ १३ रन जोडे । गौतम केसी नट आउट रहे । 

भैरहवाका लागि अभिनाश बोहराले तीन विकेट लिँदा कुशल मल्लले दुई विकेट लिए । धाम्मिका प्रसाद, कृष्ण कार्की र दुर्गेश गुप्ताको नाममा समान एक/एक विकेट रह्यो । 

प्रतिक्रिया दिनुहोस