ट्याक्स हेभन मुलुकमा चौधरी ग्रुपका परिवारैको लगानी

सफल खबर संवाददाता

सोमबार, १८ असोज २०७८, ०७ : ५३
ट्याक्स हेभन मुलुकमा चौधरी ग्रुपका परिवारैको लगानी

अमेरिकी व्यापारिक पत्रिका फोब्र्सको सूचीका एक मात्र नेपाली अर्बपति (अमेरिकी डलरमा) विनोद चौधरीको परिवारले नेपालको कानून छलेर ट्याक्स हेभन मुलुकमा कम्पनी खोल्ने, त्यसैबाट नेपालमा विदेशी लगानी भित्र्याउने, लाभांश रकम लैजाने र विभिन्न मुलुकमा तहगत कम्पनी खडा गरी विश्वव्यापी व्यावसायिक सञ्जाल विस्तार गरेको आईसीआईजेको प्यान्डोरा लिक्सका विवरणले खुलासा गरेको छ ।

खोज पत्रकारिता केन्द्रकालागि कृष्ण आचार्य र रामु सापकोटाको रिपोर्ट

नेपाली ‘कानूनका छिद्रको उपयोग गरी वैधानिक रूपमै विदेशमा लगानी गरेको’ बताउने अर्बपति विनोद चौधरी सहित उनको परिवारका पाँच जनाले ट्याक्स हेभन ९कर प्रणाली पारदर्शी नहुने र जवाफदेही पनि नखोजिने० मुलुकमा लगानी गरेको तथ्य फेला परेको छ ।

अमेरिकाको वासिङ्टन डीसीस्थित अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) ले ‘खोज पत्रकारिता केन्द्र (खोपके) नेपाल’लाई उपलब्ध गराएको विवरण अनुसार चौधरी परिवारका सदस्यहरूको नाममा ब्रिटिश भर्जिन आइल्याण्डमा ३, सिंगापुरमा १ र पनामामा १ कम्पनी दर्ता छ ।

११७ देशका ६०० भन्दा बढी पत्रकार सहभागी भई १७ असोज, आइतबार राति सार्वजनिक ‘प्यान्डोरा पेपर्स’ अनुसार ब्रिटिश भर्जिन आइल्याण्डमा सिनोभेसन इन्कर्पोरेटेड, सीजी होटल्स एण्ड रिसोर्ट लिमिटेड, सेन्सेइ क्यापिटल पार्टनर्स इंक र सिंगापुरमा सीजी हस्पिटालिटी होल्डिङ्स ग्लोबल पीटीई एलटीडी नामक कम्पनी चौधरी परिवारका सदस्यहरूका नाममा दर्ता छन् ।  


चौधरीले आफ्नो पुस्तक तथा विभिन्न अन्तर्वार्तामा विदेशमा कानूनसम्मत लगानी गरेको र त्यसको वैधतामा प्रश्न उठाउने ठाउँ नरहेको बताउने गरे पनि उनले कर छल्ने उद्देश्यले खोलिएका ती कम्पनीहरुमा नेपालको कानून विरुद्ध हुने गरी लगानी गरेको ‘प्यान्डोरा पेपर्स’ लिक्सले देखाउँछ ।

अर्कोतर्फ चौधरीका विदेशी साझेदार तथा नेपालमा विदेशी लगानी भित्र्याउने अब्दुल अवाल मिन्टु बाङ्लादेशमा मुद्रा निर्मलिकरण ९मनी लाउण्डरिङ०को आशंकामा अनुसन्धानमा तानिएको समेत विवरणहरूले देखाउँछन् । ‘प्यान्डोरा पेपर्स’ लिक्सका अनुसार, चौधरीले प्रयोग गरेको नेपालको कानूनी छिद्र, त्यसको वैधतामाथिको प्रश्न र उनका साझेदार व्यक्तिमाथि सम्पत्ति शुद्धीकरणको आशंकाको विषयमा स्पष्ट हुन उनकै आत्मकथामा उल्लेख सूचना केलाउनुपर्ने हुन्छ ।

“मेरा लागि सबैभन्दा ठूलो चुनौती थियो कानूनले छोडेका छिद्रहरू पहिल्याउने र यस्तरी पाइला सार्ने । ताकि मेरो विदेशी लगानीमाथि कसैले कानूनी प्रश्न उठाउन नसकोस्”, सन् २०१३ मा प्रकाशित ‘विनोद चौधरी ः आत्मकथा’ शीर्षकको पुस्तकमा चौधरीले भनेका छन् । त्यसका लागि आयकर ऐनको ‘वासिन्दा व्यक्ति’ सम्बन्धी प्रावधानलाई उनले ‘छिद्र’ को रूपमा व्याख्या गरेका छन् ।

“वर्षको १८३ दिनभन्दा बढी विदेश बस्ने नेपाली नागरिक गैरआवासीय नेपालीको रूपमा दरिन्थ्यो । उसले विदेशमा लगानी गर्न छूट पाउँथ्यो” चौधरीले आत्मकथामा भनेका छन्, “मैले यसैको फाइदा उठाउँदै वर्षको १८३ दिनभन्दा बढी विदेश बसेर आफ्नै देशको अस्थायी नागरिक बन्ने निर्णय गरें । आज मेरा दुई जना छोरा राहुल र बरुणले गैरआवासीय नेपालीको हैसियतमा विदेशको कारोबार गरिरहेका छन् ।” (खोज पत्रकारिता केन्द्रबाट साभार)

प्रतिक्रिया दिनुहोस