वेलायतले कोभिडशिल्डलाई मान्यता नदिएपछि भारतले लियो बदला

सफल खबर संवाददाता

आइतबार, १७ असोज २०७८, १२ : १६
वेलायतले कोभिडशिल्डलाई मान्यता नदिएपछि भारतले लियो बदला

एजेन्सी । भारतले आफ्नो देश भ्रमण गर्ने सवै वेलायतीले अनिवार्य १० दिन क्वारेन्टिनमा बस्नुपर्ने नयाँ नियम ल्याएको छ । वेलायत भ्रमण गर्ने आफ्ना नागरिकलाई अनिवार्य क्वारेन्टिनमा राखेपछि त्यसको बदलामा भारतले पनि पूर्ण खोप लगाएका वेलायतीलाई अनिवार्य क्वारेन्टिनमा बस्नु पर्ने नियम ल्याएको हो ।

वेलायतले कोभिडशिल्डलाई मान्यता नदिएपछि भारतले वेलायतीका लागि नयाँ नियम ल्याउनु परेको भारतीय विदेश मन्त्रालयका सचिव हरिस वर्धन स्रिंग्लाले बताए । यसअघि स्रिंग्लाले भारतीय खोपमाथि बिभेद गरे बदला लिने चेतावनी दिएका थिए । 

नयाँ व्यवस्थाअनुसार भारत भ्रमण गर्ने सम्पूर्ण वेलायतीले पछिल्लो ७२ घन्टाभित्रको कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट पेस गर्नुपर्नेछ । भारत उत्रिएको  दिन दोस्रो परीक्षण र आठौं दिन तेस्रो परीक्षण गर्नुपर्नेछ । 

गत साता वेलायतले पूर्ण खोप लगाएका भारतीयलाई वेलायत भ्रमणका क्रममा अनिवार्य क्वारेन्टिनमा बस्नु नपर्ने जनाएको थियो । तर, अमेरिका, बेलायत र युरोपेली युनियनले अनुमोदन गरेको खोप लगाउनु पर्ने शर्त राखेको थियो ।

प्रतिक्रिया दिनुहोस