लुम्बिनीमा पर्यटकको चहलपहल बढ्दै

सफल खबर संवाददाता

शनिबार, १६ असोज २०७८, १६ : ५६
लुम्बिनीमा पर्यटकको चहलपहल बढ्दै

काठमाडौँ । कोरोना संक्रमणको जोखिम सँगै बन्द भएका धार्मिक आस्थाका केन्द्रहरुमा बिस्तारै खुल्न थालेका छन् । बौद्धमार्गीहरुको आस्था र श्रद्धाको केन्द्र रहेको लुम्बिनीमा आन्तरिक र बाह्य पर्यटकको विस्तारै चहलपहल सुरुभएको छ । 

गएको साउनदेखि नै लुम्बिनी क्षेत्र खुला गरिए पनि नेपाल सरकारले अनअराइभल भीसा खुला नगरेको कारण नेपाल बाहिरका पर्यटक आउन सकेका थिएनन् । अहिले आन्तरिक पर्यटकको साथै विदेशी पर्यटक आउन थालेका छन् । लुम्बिनी विकास कोषको सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनी भ्रमणमा आउने पर्यटककोे संख्या अहिले न्युन भए पनि नेपाल सरकारले अनअराइभल भीसा दिन सुरु गरेकाले अब पर्यटकको आगमन बढ्ने विस्वास गरे । नेपाल सरकारले तय गरेको स्वास्थ्य मापदण्ड पालना गराउने गरि भ्रमणमा आउनेको ब्यबस्थापन गरिने  सदस्य सचिव शाक्यले बताए ।

उनले भने “कोरोना संक्रमण कम भएपछि नेपाल सरकारले निषेधाज्ञालाई खुकुलो बनाएर मठमन्दिर खोल्न क्रम सुरु भएको छ । हामीले पनि साउन महिनादेखि लुम्बिनी खुला राखेका छौं । मन्दिर खला भएसँगै धार्मिक पर्यटनका लागि आन्तरिक पर्यटक आउन सुरु  भएको छ । कोरोना संक्रमण कम भएपनि संक्रमणको जोखिम कायमै भएकाले नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गराउने गरेका छौं । मायादेवी मन्दिरमा प्रवेश गर्दा मास्क अनिवार्य गरेका छौं । आन्तिरिक पर्यटन आउन सुरु भएपनि पहिलाको तुलनामा धेरै कम संख्यामा आइरहनुभएको छ र यसलार्ई गति दिनुपर्छ । हामी आशा गर्छाैं नेपाल सरकारले अनअराइभल भीसा दिन सुरु गरिसकेको छ र दशैं, तिहार जस्ता चाडपर्व पनि आएकाले आन्तरिक तथा बाह्य पर्यट बढ्नेछन् ।”

लुम्बिनी विकाश कोषले  विश्व पर्यटन दिवशको दिन लुम्बिनी क्षेत्र खुला रहेको सन्देश विश्वभरि पठाएको जानकारी दिएको छ । लुम्बिनीलाई कोरोना संक्रमणको जोखिमबाट मुक्त गराउँदै पर्यटकलाई आकर्षित गर्नका लागि कोषले कोरोना विकास निर्माण, सरसफाई र मर्मत सम्भारको काम निरन्तर रुपमा गरिरहेको सदस्य सचिव शाक्यले बताए ।

कोषले अहिले नहर पोखरीमा पानी राख्ने, बगैंचाहरुको मर्मत तथा सरसफाइको काम गरिरहेको छ । पर्यटकलाई आकर्षित गर्न लुम्बिनी विकास कोषमात्र नभइ यहाँका होटल व्यवसायीहरु पनि काम गर्नुपर्नेछ । पर्यटकहरुको लागि होटल व्यवसायीहरु र लुम्बिनी विकास कोषको संयुक्त कार्यक्रम प्याकेज आउन सकेमा कोरोनाले थलिएको ब्याबसाय माथि उठ्न समय लाग्दैन । 

प्रतिक्रिया दिनुहोस