केवल टिभी व्यवसायी महासंघले उठाएको माग सम्वोधन गर्न सरकार तयार

सफल खबर संवाददाता

विहीबार, १४ असोज २०७८, २० : १९
केवल टिभी व्यवसायी महासंघले उठाएको माग सम्वोधन गर्न सरकार तयार

काठमाडौं । नेपाल केवल टिभी व्यवसायी महासंघले उठाएको माग सम्वोधन गर्न सरकार तयार भएको छ । आज ऊर्जा मन्त्रालयमा भएको छलफलमा पोल भाडा उल्लेख्य नबढाउने समझदारी बनेको स्रोतले बतायो ।

छलफलमा सञ्चार सचिव डा वैकुण्ठ अर्याल, उर्जा सचिव देवेन्द्र कार्की, नेपाल विद्युत प्राधिकारणका निर्देशक श्रीराम पाण्डेलगायत सहभागी थिए । केवल व्यवसायीले उठाएका मागका विषयमै छलफल केन्द्रित थियो । प्राधिकरणले गरेको निर्णय सच्याएर पोलभाडा ‘नोमिनल’ मात्रै बढाउने सहमति छलफलमा भएको स्रोतको भनाइ छ ।

‘हाल मासिक २५० रुपैयाँ पोल भाडा रहेकोमा सांकेतिक वृद्धि मात्रै गरेर २७५ रुपैयाँ पुर्याउने कुरा भएको छ,’ स्रोतले भन्यो । सञ्चार सचिव डा बैकुण्ठ अर्यालले व्यवसायीको मागका बारेमा मन्त्रालयमा छलफल भएको बताए । उनले भने, ‘केवल व्यवसायीको माग सम्वोधन गर्न सबैजना सकारात्मक छौं। सम्भवतः भोली निर्णय हुन्छ होला ।’

नेपाल केवल टिभी व्यवसायी महासंघका अध्यक्ष ध्रुव शर्माले नेपाल विद्युत प्राधिकारण, ऊर्जा मन्त्रालय, सञ्चार मन्त्रालयका पदाधिकारी बीच भएको छलफल सकारात्मक बनेको सन्देश आफूले पाएको बताए ।

प्रतिक्रिया दिनुहोस