पार्टीको स्पष्ट धारणा नआए विधान महाधिवेसनमा जान सकिँदैन : प्रभु शाह

सफल खबर संवाददाता

विहीबार, १४ असोज २०७८, १८ : ५६
पार्टीको स्पष्ट धारणा नआए विधान महाधिवेसनमा जान सकिँदैन : प्रभु शाह

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विहीबार बिहान १० बजे पार्टीका केन्द्रीय सदस्य प्रभु साहलाई आफ्नै निवास बालकोटमा बोलाए । असोज १५ देखि गोदावरीमा हुने विधान अधिवेशन ‘बहिस्कार’ गर्ने बताइरहेका साहलाई फकाउन ओलीले बालकोट बोलाएका हुन् ।

पूर्वमाओवादीबाट रामबहादुर थापा बादलसँगै एमालेमा मिसिएका पूर्वमाओवादी नेता प्रभु साहले आफू अझै एमाले हुन नसकेको बताउँदै आएका छन्। पछिल्लो समय उनले एमाले केन्द्रीय कमिटीको बैठकसमेत बहिस्कार गर्दै आएका छन् । केपी ओलीको क्याबिनेटका मन्त्रीसमेत रहेका साहले अध्यक्ष ओलीसँग विभिन्न ८ वटा माग राखेका छन् । यी माग पूरा नभए विधान महाधिवेशनमा सहभागी नहुने साहको अडान यथावत छ ।

विहीबार बालकोटमा भएको छलफलमा अध्यक्ष ओलीले साहका मागप्रति सकारात्मक रहेको भन्दै महाधिवेशनमा सहभागी हुन आग्रह गरेका थिए । तर, साहले मौखिक आश्वासनले मात्रै नहुने भन्दै आफ्ना मागबारे एमालेले औपचारिकरुपमै निर्णय नगरेसम्म महाधिवेशनमा भाग लिन नसक्ने जवाफ ओलीलाई दिएका छन् ।

बालकोटमा अध्यक्ष ओलीसँग वार्ता सकेपछि साहले भने, ‘अध्यक्षसँग सकारात्मक कुरा भएको छ । उहाँले विधान अधिवेशन र बैठकमा आउनुपर्यो भन्नुभयो, मैले त्यसरी सहभागी हुने–नहुने तपाईंको हातमा छ भनें । हामीले उठाएका सकारात्मक कुराहरु सम्बोधन गर्नुहुन्छ भने आउने वातावरण बन्छ भनें । यदि त्यो स्वीकार्नुहुन्न र असहमत हुनुहुन्छ भने सायद म आउदिनँ भनेको छु । उहाँले म सहमत छु, मिलाउँछु भन्नुभएको छ । पार्टीको स्पष्ट धारणा आएन भने भोलिबाट सुरु हुने विधान महाधिवेशनमा जान सकिँदैन ।’

प्रतिक्रिया दिनुहोस