माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य रोकायाद्धारा पार्टी परित्याग

सफल खबर संवाददाता

विहीबार, १४ असोज २०७८, १५ : ४०
माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य रोकायाद्धारा पार्टी परित्याग

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का तत्कालिन पोलिटब्यूरो सदस्य प्रकाश रोकायाले पार्टी परित्याग गरेका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनले आफूले आजबाट माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका हुन् । उनले माओवादी केन्द्रले अवलम्बन गरेका नीतिले पार्टीमा रहेर काम गर्न नसकिने निश्कर्ष सुनाउँदै पार्टी परित्याग गरेको जनाए । 

रोकायाले आफू फेरी नेकपा (एमाले) मा फर्कने तयारीमा रहेको पनि स्पष्ट पारे । एमालेमा जानको लागि अहिले नेताहरुसँग अन्तिम छलफल भैरहेको उल्लेख गर्दै रोकायले भने–‘कम्युनिष्ट आन्दोलन बचाउनको लागि अब एमालेसँग अन्तिम छलफलको क्रममा छु । एमालेले जस्तो किसिमको जिम्मेवारी दिएपनि म त्यो जिम्मेवारी निर्वाह गर्न तयार छु ।’ 

देश जनता र कम्युनिष्ट आन्दोलनको रक्षा, विकास र हितार्थ सम्पुर्ण क्रान्तिकारी, अग्रगमनका पक्षधरहरुले गम्भिर भएर सोच्ने दिन आएको उनको भनाई थियो ।  उनले कम्युनिष्ट आन्दोलन बचाउनको लागि एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल भैरहेको बताए । उनले भने–‘अब म मात्र नभएर हजारौं माओवादी कार्यकर्ताहरु नै एमालेमा प्रवेश गर्नेछन् ।’ 

एमालेमा भएका सबै नेताहरुमा पनि गल्ती÷कमजोरी भएको भन्दै सुधारेर जानुपर्नेमा जोड दिए । माओवादी केन्द्रले लाखौं कार्यकर्ताको भविष्यमाथि खेलवाड गर्दै करोडौ जनताको इच्छा र चाहनाविपरित अगाडि बढिरहेको पनि उनको आरोप थियो । उनले पार्टी नेतृत्वले जे पनि गर्ने अवस्था आएपछि त्यसका विरुद्ध उभिन परेको जिकिर गरे । सरकार गिराउने, पार्टी फुटाउने र सम्मानित सर्वोच्च अदालतबाट प्रधानमन्त्री चयन गर्न आदेश जारी गर्ने र गराउने जस्ता शक्ति पृथकीकरण सिद्धान्त विपरितका साथै अलोकतान्त्रिक क्रियाकलापको विरुद्ध आफु उभिएको उनले स्पष्ट पारे । 

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई वर्गीय सोच र चिन्तनबाट विचलित नेताको रुपमा चित्रण गरे । प्रचण्डले तत्कालिन नेकपाको नेतृत्वको दुई तिहाई बहुमतप्राप्त कम्युनिष्ट सरकारलाई अपदस्त गर्न भूमिका खेलेको पनि उनको आरोप छ । उनले भने,‘जनताले नरुचाएर प्रतिपक्षमा बसेको नेपाली कांग्रेसलाई सरकारको नेतृत्व गर्न प्रचण्डले पटक–पटक कांग्रेस नेतृत्वसँग आग्रह गर्नुभएको थियो, यसमा मेरो गम्भिर असहमति थियो र छ ।’

उनले आफूले २३ वर्षसम्म नेकपा (एमाले) मा रहेर काम गरेको स्मरण गराए । तर,  २०७० सालमा एमाले परित्याग गरेको र २०७१ मा तत्कालिन एकीकृत माओवादीमा  प्रवेश गरेको स्मरण गर्दै रोकायाले प्रचण्ड, कृष्णबहादुर महरा, शक्ति बहादुर बस्नेत, महेन्द्र बहादुर शाहीलगायतका नेताहरुसँग छलफल र संवाद गरेर प्रचण्डकै उपस्थितिमा केन्द्रिय कमिटीको बैठक चलिरहेको अवस्थामा समाहित भएको प्रस्टाए । उनले २०४७ सालबाट अनेरास्ववियुमा आवद्ध भएर प्रारम्भिक कमिटी, इलाका कमिटी हुँदै २०६३ सालमा अनेरास्वियुको केन्द्रीय सदस्यमा रहेर काम गरेको सुनाए ।
 

प्रतिक्रिया दिनुहोस