‘हामी आफ्नै शक्तिले देशको ठूलो पार्टी हुने हो : देउवा

सफल खबर संवाददाता

विहीबार, ०७ असोज २०७८, १३ : ३८
‘हामी आफ्नै शक्तिले देशको ठूलो पार्टी हुने हो : देउवा

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस लोकतन्त्र र समाजवादलाई बलियो बनाउन सधैँ प्रतिबद्ध रहेको बताएका छन्।

पर्वतको कुश्माबजारस्थित बिपी स्मृति भवनको बिहीबार भर्चुअल (जुम) माध्यमबाट उद्घाटन गर्दै उनले पार्टीको महाधिवेशनले आन्तरिक लोकतन्त्र र समाजवादलाई बलियो बनाउने बताएका हुन्।

सभापति देउवाले पछिल्लो समय मुलुकभर पार्टी कार्यालय भवन निर्माण हुने क्रममा वृद्धि भएको उल्लेख गर्दै यसले पार्टीको संस्थागत विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे।

वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट शक्ति विभाजन गरेर कांग्रेस ठूलो हुने नसोच्न कार्यकर्तालाई आग्रह गरे।

‘हामी आफ्नै शक्तिले देशको ठूलो पार्टी हुने हो’, उनले भने, ‘कम्युनिष्ट फुटेका कारण ठूलो पार्टी हुने होइन।’ वरिष्ठ नेता पौडेलले पछिल्लो समय नेपाली कांग्रेसमा लोकतान्त्रिक मूल्य मान्यतामा र्‍हास आएको बताउँदै आन्तरिक लोकतन्त्रलाई सबल बनाउनुपर्नेमा जोड दिए।

उनले कांग्रेसको आसन्न महाधिवेशनले सफल र सक्षम नेतृत्व चयन गर्नुपर्ने बताए। कांग्रेसका केन्द्रीय सदस्य तथा भवन निर्माण समितिका संयोजक अर्जुनप्रसाद जोशीले पार्टीभित्र गुटबन्दीको अन्त्य हुनुपर्नेमा जोड दिए।

विसं २०६६ कात्तिक ११ गते शिलान्यास गरिएको सो भवन झण्डै १२ वर्षमा सम्पन्न भएको छ। कूल रु एक करोड ४७ लाखको लागतमा सो भवन निर्माण भएको समितिका संयोजक जोशीले जानकारी दिए। उनका अनुसार भवन निर्माणका लागि विभिन्न संघसंस्था, व्यक्ति तथा शुभेच्छुकसँग रकम सङ्कलन गरिएको छ। सङ्कलित रकममध्ये रु ६५ लाख बचत भएको र यसलाई अक्षय कोषमा राखिने उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस