सत्तारुढ गठबन्धनको बैठक सुरु, मन्त्रिपरिषदलाई पूर्णता दिन छलफल

सफल खबर संवाददाता

बुधबार, ०६ असोज २०७८, १८ : ५७
सत्तारुढ गठबन्धनको बैठक सुरु, मन्त्रिपरिषदलाई पूर्णता दिन छलफल

काठमाडौँ । मन्त्रिपरिषद विस्तारमा सहमति जुटाउन सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार साँझ गठबन्धन जारी छ । आजको बैठकमा मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल भइरहेको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई, काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का, माओवादीका नेता नारायणकाजी श्रेष्ठ र कानुनमन्त्री ज्ञानेन्द्र कार्की सहभागी छन् । 

राजनीतिक दलसम्बन्धी अध्यादेशबारे टुंगो लगाएर मन्त्रिपरिषद् विस्तार गर्ने गठबन्धनका नेताहरुको तयारी छ । राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधिसभामा रहेको छ । त्यसलाई फिर्ता नलिएसम्म सरकारमा सहभागी नहुने जसपा अध्यक्ष उपेन्द्र यादवले अडान लिँदै आएका छन् ।

यस विषयमा मंगलबार बसेको गठबन्धन दलको बैठक छलफल भएको थियो । अध्यादेशले जसपा र एकीकृत समाजवादीबाट सरकारमा सहभागी हुने कुरामा समस्या भए माओवादीबाट मात्रै भएपनि मन्त्री हुनेको नाम पठाउन प्रधानमन्त्री देउवाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रस्ताव गरेका थिए । 

काँग्रेसको पदाधिकारी, माओवादी केन्द्रको स्थायी समिति र एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सकेर गठबन्धनको बैठक बसेको हो । देउवाले काँग्रेसको रामचन्द्र पौडेलसँग पनि आज मन्त्रीको नाम मागेका छन् । माओवादी केन्द्रका प्रचण्डले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने स्थायी कमिटीमा ब्रिफिङ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस