जसपा र लोसपाले संविधान दिवसलाई कालो दिनका रुपमा मनाउदैं

सफल खबर संवाददाता

आइतबार, ०३ असोज २०७८, ०८ : २५
जसपा र लोसपाले संविधान दिवसलाई कालो दिनका रुपमा मनाउदैं

काठमाडौं । जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले  संविधान दिवसको कार्यक्रमलाई वहिष्कार गर्ने भएका छन्। संविधान अपूर्ण भएको भन्दै उपेन्द्र यादव नेतृत्वको जसपा र महन्थ ठाकुर नेतृत्वको लोसपाले असोज ३ लाई कालो दिनका रुपमा मनाउने भएका हुन्।

जनता समाजवादी पार्टीले सरकारले घोषणा गरेको संविधान दिवस कार्यक्रममा भाग नलिने तथा संविधानको विरोध गर्ने जनाएको छ। जसपाका अध्यक्ष उपेन्द्र यादवले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘विभेदकारी, अधुरो, अपुरो एवम् त्रुटीपूर्ण नेपालको संविधान २०७२ ले मधेशी, आदिवासी जनजाति लगायत समुदायहरुका साथै उत्पीडित जात-जाति एवम् समुदायहरुले उठाउँदै आएका राष्ट्रिय मुद्दाहरुलाई सम्वोधन गर्न सकेको छैन।

संविधानमा संघीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचानको मान्यता, स्वशासन र स्वायतत्ता, समानुपातिक समावेशिकरण लगायतका प्रावधानहरु पनि अधुरो र अपूर्ण छन्।’ 

सरकारले घोषणा गरेको संविधान दिवस २०७८ मा भाग नलिने र विरोध गर्ने बताएको छ। विज्ञप्तीमा भनिएको छ, ‘संविधानमा रहेका विभेदकारी एवम् त्रुटिपूर्ण प्रावधानहरु परिवर्तनका लागि उक्त दिन अर्थात असोज ३ गते संविधान शंसोधनद्वारा यसलाई सच्याउनका लागि देशका प्रमुख स्थानहरुमा 'संविधान संशोधनको आवश्यकताु विषयक अन्तरक्रिया आयोजना गरी उक्त संविधानमा रहेका विभेदकारी प्रावधानहरुको विरोध गर्न आम जनसमुदाय एवम् सम्पूर्ण पार्टी संगठनहरुलाई आह्वान गरिन्छ।’ 

प्रतिक्रिया दिनुहोस