नेपालले अमेरिकालाई जितका लागि १७५ रनको लक्ष्य दियो

रासस

शुक्रबार, ०१ असोज २०७८, २१ : १८
नेपालले अमेरिकालाई जितका लागि १७५ रनको लक्ष्य दियो

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले अमेरिकालाई जितका लागि १७५ रनको लक्ष्य दिएको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभरमा सबै विकेट गुमाउँदै १७४ रनको योगफल बनायो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ रनको अर्धशतकीय इनिङ्स खेले । उनले १०५ बलमा ३ चौका प्रहार गरे । कप्तान मल्ल एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडीसमेत बनेका छन् ।

ज्ञानेन्द्रले १५ खेलमा ३ अर्धशतकसहित कूल एक हजार ३६६ रन बनाएका छन् । ज्ञानेन्द्र अघि पूर्वकप्तान पारस खड्काले १० खेलमा एक हजार ३१५ रन बनाएका थिए ।

मल्लले ३६६ रन जोड्दै सर्वाधिक रन बनाउने खेलाडी बनेका हुन् । ओपनर कुशल भुर्तेलले ३६ रन जोड्दा डेब्यु खेलाडी गुलशन झाले २८ रन बनाए । त्यस्तै करण केसीले १२, विनोद भण्डारीले १० तथा रोहित पौडेल र सोमपाल कामी दुई÷दुई रनमा आउट भए । 

ओपनर आसिफ शेख पनि ३ रनमा आउट भए । सन्दीप लामिछाने ११ रनमा आउट हुँदा सुशन भारीले अविजित २ रन जोडे  । अमेरिकाका कप्तान सौरभ नेत्राभाल्करले ४ विकेट लिए भने केली फिलिपले ३ विकेट लिए ।

त्यस्तै करिमा गोर, एल्मोर हुचिन्सन, नास्टुश केनिजेगेले एकएक विकेट लिए । नेपालले यसअघि सोमबार भएको पहिलो खेलमा अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित हुन पुगेको थियो । 

प्रतिक्रिया दिनुहोस