विश्व पर्यटन दिवस भौतिकरुपमा मनाइने

सफल खबर संवाददाता

शुक्रबार, ०१ असोज २०७८, १३ : २५
विश्व पर्यटन दिवस भौतिकरुपमा मनाइने

काठमाडौं । बयालिसौँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइने भएको छ । कोभिड–१९ महामारीकैबीच स्वास्थ्य मापदण्डको पालना गरी भौतिकरुपमा दिवस मनाउने तयारीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय तथा सरोकार संस्था लागिपरेका हुन् । 

सोही प्रयोजनका निम्ति पर्यटन मन्त्रालय मातहतका निकाय प्रमुखबीच हालै भर्चुअल बैठक गरियो । पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाका अध्यक्षतामा भएको सो बैठकले दिवस भव्यरुपमा सम्पन्न गर्नेबारे छलफल भएको मन्त्रालयले जनाएको छ । ‘टुरिज्म फर इन्क्लुसिभ ग्रोथ’ नाराका साथ नेपालमा दिवस मनाउन लागिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । स्वास्थ्य मापदण्ड पालना गर्दै कम सङ्ख्याका उपस्थितिमा दिवस मनाइने बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले जानकारी दिए । उनका अनुसार बोर्डको हलमा औपचारिक समारोह आयोजना हुनेछ । 

पर्यटन मन्त्रालय, मातहत निकाय तथा बोर्डका कार्यकारी अधिकृत, पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागितामा हुने उक्त कार्यक्रमको ‘फेसबुक लाइभ’मार्फत देशभरका पर्यटन व्यवसायीमाझ सन्देश प्रवाह गरिने ऐरले बताए । ‘सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवद्र्धन’ नारासहित हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाइन्छ । गत वर्ष भर्चुअलरुपमा पर्यटन मन्त्रालयमा न्यून सङ्ख्यामाझ दिवस मनाइएको थियो । 

कोरोनाको जोखिम कम हुँदै गएकाले यस वर्ष भौतिकरुपमै कार्यक्रम गर्न लागिएको हो । दिवस भव्यरुपमा मनाउन पर्यटन सचिव यादवप्रसाद कोइरालाका अध्यक्षतामा ४२औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ । अतिथि देवो भवः अर्थात् पाहुना हाम्रा भगवान् हुन् । हरेक वर्ष नेपालको हिमशृङ्खलामा रमाउन, हिमाल आरोहण गर्न, पदयात्रा र धार्मिक पर्यटन गर्न तथा अन्य विभिन्न सम्पदा अवलोकन गर्न लाखौँ पर्यटक नेपाल आउने गर्छन् तर कोभिड महामारीले पछिल्ला दुई वर्षमा उल्लेख्य सङ्ख्यामा पर्यटक आउन सकेनन् ।
    
पर्यटन बोर्डको तथ्याङ्कानुसार सन् २०२१ का आठ महिनामा ६६ हजारभन्दा बढी पर्यटक नेपाल आएका छन् । अघिल्लो सन् २०२० मा पर्यटक आगमन सङ्ख्या दुई लाख ३० हजार ८५ मात्र छ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ बाह्य पर्यटक नेपाल घुम्न आएका थिए ।
 

प्रतिक्रिया दिनुहोस