पर्यटकलाई आकर्षित गर्दै लमजुङका झरना

रासस

विहीबार, ३१ भदौ २०७८, १४ : १६
पर्यटकलाई आकर्षित गर्दै लमजुङका झरना

लमजुङ । डुम्रे–बेंसीशहर सडकका छेवैमा सुन्दर आकाशे छहरा । लमजुङको बेंसीशहर नगरपालिका–१ दलालमा अवस्थित छहराको फेंदीको सुन्दर पोखरी  । ८० मिटर उचाइबाट झरेको पानीमा सूर्यको प्रकाशसँगै देखिने इन्द्रेणी । यही इन्द्रेणीको अनुपम दृश्यावलोकन गर्न पर्यटकको गन्तव्य बनेको छ ।

छहरा हेर्दै फुरुङ्ग बनेका पर्यटक कोही धमाधम फोटो खिच्छन्, त कोही छहरालाई पृष्ठभूमिमा पारेर सेल्फी लिन्छन् । कपडा खोलेर चिसोपानीमा डुबुल्की नमारी त कहाँ धित मर्छ र ? उहाँहरु छहराका फेंदमा बनाइएको पोखरीमा घण्टौं रमाउँछन् पनि ।

यस वर्ष कोरोना महामारीका कारण बाह्य पर्यटक आएका छैनन् । विगतमा भने यहाँ पदमार्गमा आउने विदेशी पर्यटक समेत दिल खोलेर रमाउने गर्दथे । सडकमा गुड्ने सवारीसाधन समेत छहरा छेवैमा आइपुगेपछि एकछिन रोकिने र यात्रुहरु यहाँको प्राकृतिक सुन्दरता नियाल्ने प्रयास गर्दछन् ।

यस झरनामा दैनिक २५० को हाराहारीमा आन्तरिक तथा विदेशी पर्यटक आउने गरेका छन् । शनिबार र बिदाका समयमा भने दोब्बर नै आउने गरेका छन् । यस झरनामा लमजुङ बाहेक छिमेकी जिल्ला तनहुँ, गोर्खा, कास्की, मनाङलगायतका ठाउँका पर्यटक आउने गरेको स्थानीयवासी बताउँछन् । झरनाको शीतलतासँगै सेल्फी खिच्दा मन चङ्गा जस्तै हुने आन्तरिक पर्यटक सिर्जना श्रेष्ठले बताइन् । ‘घरमा बसेर दिन बिताउन कठिन हुन्छ । यहाँ आएर झरनासँग रमाउँदा दिन बितेको पत्तो नै हँुदैन, झरनामा भिज्दा आनन्दको आभास हुन्छ,’ खुदी भुलभुलेका रामबहादुर थापाले भने ।

राइनास नगरपालिका–८ की गोमा जिनी नेपालीले भनिन्, ‘झरनामा रमाउन मन लाग्छ अनि साथीहरुलाई पनि सँगै ल्याएर रमाउने गरेको छु, साथीहरु यस झरनामा आउँदा रमाइलोे महसुस हुन्छ ।’

आन्तरिक पर्यटक मात्र नभई विदेशी पर्यटकको रोजाइमा परेको यो झरनामा कोरोना महामारीका कारण यस वर्ष विदेशी पर्यटनक भने नआएको स्थानीयवासी कृष्णराज ओलियाले बताए । साहसी खेल क्यानोनिङको समेत राम्रो सम्भावना यहाँ रहेको छ । बेंसीशहर नगरपालिकाले पर्यटक र क्यानोनिङको सम्भावना बोकेको झरना व्यवस्थित गर्नका लागि अन्य संघ संस्थासँग मिलेर काम जारी राखेको छ । बेंसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले झरनालाई व्यवस्थित गर्दै पर्यटकको आकर्षणको केन्द्र बनाउने तयारीमा रहेको जानकारी दिए ।

उनका अनुसार नगरपालिकाले झरनालाई पर्यटकको आकर्षणको केन्द्र बनाउन विस्तृत आयोजना प्रतिवेदन ९डीपीआर० समेत तयार गरिसकेको छ । नगरपालिकाको ६ करोड ६८ लाख रुपैयाँको लागतमा सो झरनालाई व्यवस्थित बनाउनका निजी क्षेत्रलाई काम गर्ने जिम्मा दिने तयारीमा रहेको नगर प्रमुख अर्यालले बताए ।

मस्र्याङ्दी नदीको पानी तानेर झरनामा पानी निरन्तर रुपमा झार्ने, झरना तल पोखरी निर्माण गर्ने र पार्किङस्थल बनाउने नगरपालिकाको योजना छ । यस्तै झरनामा क्यानोनिङ तथा जलयात्रा समेत सञ्चालन गर्ने नगर प्रमुख अर्यालले बताए । चक्रीय अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ रहेकाले यस बाटो हुँदै जाने विदेशी पर्यटक समेत आकर्षित हुने अपेक्षा नगरपालिकाको छ ।

यो झरना बर्सेनि असारदेखि असोज महिनामा झर्ने गर्दछ । झरनामा आउने पर्यटकलाई मध्यनजर गर्दै नजिकै रेष्टुरेण्ट समेत सञ्चालन गर्न थालिएको छ । झरना थप व्यवस्थित भएमा पर्यटकको आकर्षण झरना हुनसके पर्यटक आएमा व्यापार व्यवसाय समेत हुनेहुँदा स्थानीयवासीलाई आयआर्जनको पाटोसमेत हुने स्थानीयवासी कृति बानियाँको भनाइ छ । ‘प्रकृतिले दिएको उपहारको सदुपयोग हामीले गर्न सक्नुपर्छ,’ उनले भनिन् ।

यस्तै, चक्रीय अन्नपूर्ण पदमार्गको छेउमै पर्ने मस्र्याङ्दी गाउँपालिकाको हामफाले भूलभूले झरनाले पनि आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिचेको छ । करिब ७० मिटरमाथिबाट पानी झरेको झरना नजिकै आन्तरिक तथा बाह्य पर्यटकका लागि तीन स्वीमिङ पुलसमेत बनाउन थालिएको छ ।

दुई वर्षअघि गाउँपालिकाले पर्यटकलाई मध्यनजर गर्दै करिब १० लाख रुपैयाँको लागतमा सो झरनासम्म जाने सिँढी र फलाको रेलिङ लगायतका पूर्वाधार निर्माण गरेको थियो । यस झरनामा पछिल्लो समयमा आन्तरिक पर्यटकको चाप बढ्दै गएको छ । झरनालाई थप व्यवस्थित गर्दै आगामी दिनमा पर्यटकको लागि उपयुक्त पर्यटकीय गन्तव्यमध्ये एक बनाउने तयारीमा रहेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।

‘झरनालाई पर्यटकीय गन्तव्य बनाउनका लागि आवश्यक रकम खर्च गर्नेछौं,’ उनले भने । त्यस्तै गाउँपालिका–४ मिप्रामा रहेको स्याग्रे झरना पनि पर्यटकको आकर्षणको केन्द्र बनेको छ । यस झरनामा समेत सयौं युवायुवती पुग्ने गरेको स्थानीयवासीको भनाइ छ । सोही वडामा रहेको अक्टोवस झरना पनि विस्तारै आकर्षणको केन्द्र बन्दैछ । बेंसीशहर चामे सडकबीच सडकमै झर्ने झरनाको पानीले त्यहाँ पुग्ने जो कोहीलाई पनि मोहित बनाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस