कास्कीमा असोजदेखि भौतिक उपस्थितिमा विद्यालयमा पढाइ हुने

सफल खबर संवाददाता

सोमबार, २८ भदौ २०७८, १३ : ४९
कास्कीमा असोजदेखि भौतिक उपस्थितिमा विद्यालयमा पढाइ हुने

पोखरा । कोरोना भाइरसका कारण लामो समय बन्द भएका कास्कीका शैक्षिक संस्थाहरू असोदेखि भने भौतिक उपस्थितिमै खुल्ने भएका छन् । अन्य जिल्लामा अघिल्लो सातादेखि नै पढाइ भए पनि कास्कीमा हालसम्म स्कुल खुलेका छैनन् ।

गण्डकीमा सबैभन्दा बढी संक्रमित कास्कीमै छन् । कास्कीमा हाल नौ सयजना सक्रिय संक्रमित छन् ।

पोखरा महानगर शिक्षा महाशा प्रमुख हेमप्रसाद आचार्यले पोखरामा असोज दोस्रो सातासम्म विद्यालय खोल्ने योजना रहेको बताए । ‘अहिले स्कुल खोल्ने र बन्द गर्ने अधिकार स्थानीय तहलाई छ । हामी सरोकारवालासँग छलफल गरिरहेका छौं,’ उनले भने, ‘सम्भवतः असोजको दोश्रो सातादेखि स्कुल खोल्न सकिएला । त्यहि योजना बनाईरहेका छौं ।’

तर निजी स्कुलका सञ्चालक भने पहिलो सातादेखि नै खोल्न दबाब दिइरहेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कास्कीका अध्यक्ष प्रेमप्रसाद शर्मा सुवेदीले अब धेरै बन्द गर्न नसकिने बताए । ‘बजार सबै खुलेका छन् । स्कुल मात्रै बन्द गरेर कोरोना हट्ने होइन,’ उनले भने, ‘अब पनि कतिञ्जेल स्कुल बन्द गर्नू । कोरोना संक्रमण जोखिम घट्दै गएकाले असोजदेखि विद्यालय सञ्चालन गर्नुपर्छ भन्नेमा हाम्रो जोड छ ।’

विद्यार्थीलाई सधैं घरमै राख्दा नकारात्मक भावना पैदा हुन सक्ने र त्यसको क्षति अपूरणीय हुने उनीहरूको तर्क छ । कास्कीमा प्याब्सनअन्तर्गत एक सय दुई, एनप्याब्सनअन्तर्गत ४५ विद्यालय सञ्चालनमा छन् । अघिल्लो वर्षको तथ्यांकमा मन्टेश्वरीसहित कक्षा १२ सम्म कास्कीमा कुल विद्यार्थीको संख्या एक लाख २५ हजार रहेको प्याब्सन कास्की अध्यक्ष शर्माले जानकारी दिए ।

कास्कीमा भदौ मसान्तसम्म खुकुलो लकडाउन कायम छ । असोज पहिलो सातादेखि पूरै खुला गर्ने तयारी रहेको प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गौतमले बताए । हाल विश्वविद्यालय, क्याम्पस, विद्यालयलगायत सबै प्रकारका शैक्षिक संस्था, प्रशिक्षण केन्द्र बन्द छ । केहीले अनलाइनमार्फत पढाए पनि त्यो खासै प्रभावकारी पनि देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस