देशको विकासमा निजामती कर्मचारीको महत्वपूर्ण भूमिका : मुख्यमन्त्री शाक्य

रासस

मंगलबार, २२ भदौ २०७८, २१ : ४१
देशको विकासमा निजामती कर्मचारीको महत्वपूर्ण भूमिका : मुख्यमन्त्री शाक्य

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले देश विकासमा निजामती कर्मचारीको महत्वपूर्ण भूमिका रहने बताएका छन् ।

निजामती सेवा दिवस, २०७८ का अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजनामा आज हेटौँडामा आयोजित कविता वाचन तथा प्रवचन कार्यक्रमका अवसरमा उनले सबै तहका जनप्रतिनिधि र निजामती कर्मचारी मिलेर मुलुकको चौतर्फी विकासमा अघि बढ्नुपर्ने बताए । निजामती कर्मचारी र जनप्रतिनिधि मिलेर मात्र जनताले अनुभूति गर्ने गरी सेवामूलक काम गर्न सकिने मुख्यमन्त्री शाक्यको भनाइ थियो । 

उनले राजनीतिज्ञले कर्मचारीलाई असहयोग गर्यो भनेर दोष लगाउने, कर्मचारीले राजनीतिज्ञलाई दोष लगाउने गरिएकाले अबका दिनमा यस्ता कुरा सच्याउनुपर्ने बताए ।

दुवै पक्ष मिलेर छलफल गरेपछि समस्याको निकास निस्कने उल्लेख गर्दै उहाँले भन्नुभयो, “दुवै पक्ष मिलेर छलफल गराँै । एकै स्थानमा बसेर छलफल गरेपछि एकले अर्कालाई दोष थोपर्नु नै पर्दैन ।” निजामती कर्मचारी स्थायी सरकार रहेको भन्दै उहाँले निजामती कर्मचारीलाई परेका समस्या समाधान गर्नका लागि प्रदेश सरकार तयार रहेको उहाँले वताए ।

कार्यक्रममा मुख्यमन्त्री शाक्यले इन्द्रसरोवर स्मारिकाको विमोचन गरे । कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकृत सुनिताकुमारी गजुरेल र उच्च अदालत पाटन हेटौँडा इजलासका अधिकृत राजकुमार लामिछानेले कविता वाचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस