नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीको शेयर लगानीकर्ताले मागे राजीनामा

सफल खबर संवाददाता

आइतबार, २० भदौ २०७८, १२ : ४७
नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीको शेयर लगानीकर्ताले मागे राजीनामा

काठमाडौं । शेयर लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजनीनामा माग गरेका छन् । आफ्नो सम्पत्ति धितोमा राखेर क्षमताअनुसार ऋण लिन पाउने सहज व्यवस्थालाई अप्ठेरो बनाउँदै शेयर धितो ऋणमा सीमा तोकिदिएको भन्दै लगानीकर्ताहरु रुष्ट बनेका छन् ।

राष्ट्र बैंकले एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँ र एक व्यक्तिले बढीमा १२ करोड रुपैयाँमात्रै शेयर धितोमा ऋण लिन सक्ने नियम बनाएको छ । यसअघि यस्तो सीमा तोकिएको थिएन । करोडौं रकमको शेयर भएपनि त्यो धितोमा राखेर जम्मा १२ करोड रुपैयाँमात्रै ऋण लिन अब सक्नुहुनेछ ।

यो व्यवस्थापछि लगातार शेयर बजार घटिरहेको छ । बजारमा निकै ठूलो नकरात्मक असर पार्ने निर्णय गरेको भन्दै लगानीकर्ताहरुले रामकृष्ण ढकालको संयोजकत्वमा पुँजी बजार सुधार संर्घष समिति नै गठन गरेको छ ।

यो समितिले विज्ञप्ति जारी गर्दै गभर्नर अधिकारीले तत्काल राजीनामा दिनु पर्ने माग अघि सारेको छ । १६ बुँदे मागको पहिलो नम्बरमा नै संघर्ष समितिले गभर्नरका कारण जनताको लगानी जोखिममा परेको बताएका छन् ।

नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल राष्ट्र बैंकले बजारलाई बवादीको दिशामा अघि बढाएको बताउँछिन् ।४० लाख लगानीकर्ताहरुको हितविपरीत गभर्नर अधिकारीले आफूखुसी नीति बनाएको भन्दै तत्कालै नीति परिमार्जन गर्नुपर्ने बताइन् ।आफ्ना मागहरु सहज तरिकाले सम्बोधन नभए आन्दोलन गर्न आफूहरु बाध्य हुने उनले चेतावनी समेत दिएकी छिन् ।