रहिनन् चर्चित मोडल निशा घिमिरे, उपचारको क्रममा निधन

सफल खबर संवाददाता

बुधबार, १६ भदौ २०७८, २० : ०९
रहिनन् चर्चित मोडल निशा घिमिरे, उपचारको क्रममा निधन

काठमाडौं । चर्चित मोडल तथा कलाकार निशा घिमिरेको उपचारका क्रममा निधन भएको छ । मोडल घिमिरेको उपचारका क्रममा आज साँझ मृत्यु भएको नर्भिक अस्पतालले जनाएको छ ।

लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन । उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो । खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने उनका शरीरमा रहेका घाउहरु समेत लामो समयसम्म पुरिन सकेका थिएनन् ।  गम्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मृगौलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि अवस्था गम्भीर बन्न पुगेको थियो । 

नर्भिक अस्पतालले गम्भीर बिरामी भएकी घिमिरेलाई गत जेठ २७ गते उद्धार गरेको थियो । उद्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो भने सो क्रममा उनको सबैखालका विकल्प तथा विधिबाट उपचार गरिएको अस्पतालको भनाइ छ । लामो समयसम्मको उपचारपछि पनि उनको अवस्था स्थिर नै रहेको थियो । 

अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेकोमा अस्पताल अत्यन्त दुःखी भएको नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस