बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै

सफल खबर संवाददाता

सोमबार, १४ भदौ २०७८, ०९ : ०८
बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धन दलको बैठक बस्दैछ । अहिले बिहान केहीबेरमै वालुवाटारमा सत्ता गठवन्धन दलका नेताहरुको बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री शेरवहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको ४८ दिन पुगिसक्दा पनि सरकार विस्तार गर्न चुकिरहेका छन् । उनले आइतबार मात्रै पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग बिहान र बेलुकी गरी दुई चरणमा छलफल गरेका थिए ।

छलफलमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव भने सहभागी थिएनन । उनी पार्टी काम विशेषले बुटवलमा थिए । भैरहवामा पार्टी प्रशिक्षणका लागि पुगेका जसपाका शीर्ष नेताहरु काठमाडौं आएसँगै बैठक बस्ने तयारी भएको हो ।उपेन्द्रसहितको बैठक बसेपछि सुुरुमा सत्ता गठबबन्धन दलका नेताहरुका बीचमा मन्त्रालय भागवन्डा लगाउने र भोलिसम्ममा ती दलहरुले आ आफनो भागमा परेका मन्त्रालयमा मन्त्रीको नाम छनौट गरेर पठाएपछि मन्त्रीपरिषद् विस्तार गर्ने योजनामा प्रधानमन्त्री छन् । राष्टिय जनमोर्चाले भने सरकारलाई सहयोग गरे पनि सरकारमा नजाने प्रष्ट पारिसकेको छ ।

अहिले गठबन्धन दलका बीचमा केन्द्रको मात्र नभई प्रदेश सरकारका विषयमा पनि छलफल हुने भएको छ । एकैपटक केन्द्रदेखि प्रदेशसम्मका सरकारका विषयमा प्याकेज सहमति गर्ने गरी आन्तरिक छलफल चलेको एक नेताले बताए । प्रदेश १ र वाग्मति प्रदेशमा एमालेमै रहेका भीम आचार्य र अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री छन् । एमाले छोडेर एकीकृत समाजवादीमा आएमा यी दुवै प्रदेशका मुख्यमन्त्री जोगिने नत्र सत्ता गठवन्धनले यी दुवै प्रदेशका मुख्यमन्त्रीको पद धरापमा पर्ने देखिएको छ ।