काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता अब १४औँ महाधिवेशनमा केन्द्रित हुने भएका छन् । पार्टीको क्रियाशील सदस्यता विवाद, निर्वाचन निर्देशिकालगायतका विषयमा सहमति भई शनिबारै जिल्ला सभापतिको अनशन टुङ्गो लागेपछि पार्टी अब सम्पूर्ण रूपमा महाधिवेशनमा होमिने अवस्था सिर्जना भएको हो ।
पार्टी सभापति शेरबहादुर देउवा तथा वरिष्ठ नेता रामचन्द्र पौडेलबीच यस विषयमा सहमति भएपछि चार दिनदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी जिल्ला सभापतिको रिलेअनशनसमेत तोडिएको छ । शीर्षनेताबीच सहमतिपछि शनिबार साँझ जिल्ला सभापतिले अनशन तोडेको र पार्टी अब पूर्ण रूपमा महाधिवेशनमा जुट्ने अवस्था बनेको नुवाकोटका जिल्ला सभापति जगदीशनरसिंह केसीले बताए ।
आफूहरूको माग पूरा भएकाले अनशन स्थगित गरिएको उनले जानकारी दिए। जिल्ला सभापतिको अनशन तोडाउन क्रियाशील सदस्यता छानबिन समितिका संयोजक पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, सदस्य डा. मीनेन्द्र रिजाल र रमेश लेखक पार्टी कार्यालय सानेपा पुगेका थिए ।
५३ जिल्लाको सूची सार्वजनिक
काँग्रेसले ७७वटै जिल्लाका क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्ने भएको छ । क्रियाशील सदस्यताको विवाद किनारा लगाउँदै बढीमा दुई÷तीन दिनभित्र सबै जिल्लाको सूची वेबसाइटमा सार्वजनिक गरिने जानकारी काँग्रेसले दिएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विवादको छिनोफानो गर्दै सदस्यताको सूची सार्वजनिक गरिने जानकारी दिए ।
यसक्रममा शनिबार क्रियाशील सदस्यताको विवादको छिनोफानो भएका थप पाँच जिल्लाको सूचीलाई काँग्रेसले वेबसाइटमा अद्यावधिक गरेको छ । नुवाकोट, चितवन, धादिङ, ललितपुर र अर्घाखाँची जिल्लाका क्रियाशील सदस्यताको सूची सार्वजनिक गरिएको हो । ती जिल्लामा निर्वाचन अधिकृतसमेत खटाइएको छ । गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १३ भदौ २०७८, ०८ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस केन्द्रीय समिति बैठक जारी
संसदीय समितिको सर्वसम्मत निर्णयमाथि जालझेल: दिलेन्द्रप्रसाद बडू
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै
काँग्रेस केन्द्रीय समिति बैठक जारी
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आजदेखि, यस्ता छन् एजेण्डा
विद्यालय शिक्षा विधेयकको प्रतिवेदन आजै संसद्मा पेस हुन्छ: काँग्रेस