महाधिवेशनमा केन्द्रित हुने पौडेल समूहको निर्णय, वडा अधिवेशन भदौ २२ मा गर्ने तयारी

सफल खबर संवाददाता

शनिबार, १२ भदौ २०७८, १३ : २७
महाधिवेशनमा केन्द्रित हुने पौडेल समूहको निर्णय, वडा अधिवेशन भदौ २२ मा गर्ने तयारी

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीको महाधिवेशनमा सम्पूर्ण ध्यान केन्द्रित गर्ने निर्णय गरेको छ । शनिबार बिहान चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको पौडेल पक्षमा नेताहरुको बैठकले पार्टीको महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुनेगरी  केन्द्रित भएर लाग्ने निर्णय गरेको हो ।

महाधिवेशनमा एकजुट भएर लाग्नका लागि सिंगो पार्टी पंक्तिलाई एक औंपचारिक कार्यक्रम गरी आह्वान गर्ने निर्णय पनि गरिएको नेता सिंहले जानकारी दिए । पार्टी सभापति शेरबहादुर देउवासँग वरिष्ठ नेता पौडेलले शुक्रबार गरेको भेट पछि पौडेल पक्षले महाधिवेशनको वातावरण बनेको निष्कर्ष निकाल्दै त्यसका लागि सिंगो पार्टी पंक्तिलाई एकजुट भएर अघि बढन आह्वान गर्ने निष्कर्षमा पुगेको हो ।

नेता सिंहले भने, ‘क्रियाशील सदस्यहरुको विवादसम्बन्धि बाँकि काम पनि विधि र नियमपूर्वक गरेर महाधिवेशनमा जाने विषयमा सभापतिजीसँग कुरा भएको छ । र त्यसै अनुसार अघि बढिनेछ । आजै यो बैठकबाट रिले अनसनमा बसीरहेका जिल्ला सभापतिजीहरुको माग सम्बोधन हुने वातावरण बनेकाले रिले अनसन तोडाउने निर्णय गरिएको छ । अव महाधिवेशनका लागि सबैले एकजुट भएर काँग्रेसको महाधिवेशनमा लाग्नका लागि एक कार्यक्रमको आयोजना गरी अनुरोध गर्ने भन्ने सहमति पनि गरिएको छ ।’

यस्तै कांग्रेसको स्थानीय अधिवेशनको कार्यतालिका केही हेरफेर गर्ने तयारी भएको छ । क्रियाशील सदस्यता विवाद, जिल्ला सभापतिहरुको आन्दोलन र निर्वाचन समितिको तयारीलाई मध्यनजर गरेर भदौ १८ गते सुरु हुने वडा अधिवेशन भदौ २२ गते गर्न शीर्ष नेतृत्वबीच सहमति जुटिसकेको छ ।

विहीबार कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच जिल्ला सभापतिहरुको माग लगायतका विषयमा छलफल भएको थियो ।

सोही क्रममा वडा अधिवेशन केहीदिन सार्ने विषयमा छलफल भएको बताइन्छ । तत्कालका लागि जिल्ला सभापतिको माग पूरा गरी अनसन अन्त्य गर्ने र सम्भव भए भदौ १८ नभए भदौ २२ मा वडा अधिवेशन गर्ने सहमति देउवा र पौडेलबीच भएको हो । वडा अधिवेशन भदौ २२ मा हुने वा भदौ १८ मै हुने भन्नेमा भने तत्काल निर्णय हुनेछैन ।

‘निर्वाचन समिति, जिल्ला सभापति र समग्रतामा हेर्दा भदौ १८ लाई तयारी नपुग्न सक्छ । त्यसैले वडा अधिवेशन ४ दिन सर्ने सम्भावना छ’, कांग्रेसका एक शीर्ष नेताले भने ।

ती नेताका अनुसार भदौ २२ मा वडा अधिवेशन भएपनि अन्य अधिवेशनको मिति भने यथावत राखिनेछ । अनसन अन्त्य गर्ने सन्दर्भमा पहाडी जिल्लाका सभापतिहरुले तयारीका लागि थप केही दिन आवश्यक पर्ने बताएका थिए ।

निर्वाचन समितिसंगको समन्वयमा वडा अधिवेशन भदौ २२ मा गर्ने निर्णय क्रियाशील सदस्यताको पूर्ण सूची सार्वजनिक भएलगत्तै गर्ने तयारी छ ।

सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच सबै वडाको अधिवेशन एकैदिन गर्ने सहमति भएकोले पनि वडा अधिवेशन भदौ २२ मा पुग्ने निश्चित भएको हो ।

प्रतिक्रिया दिनुहोस