सरकार ढलोस्, तर पार्टी परिवर्तन गर्दिनँ : मुख्यमन्त्री शाक्य

सफल खबर संवाददाता

शुक्रबार, ११ भदौ २०७८, १७ : २९
सरकार ढलोस्, तर पार्टी परिवर्तन गर्दिनँ : मुख्यमन्त्री शाक्य

मकवानपुर । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफ्नो सरकार ढले पनि नेकपा एमाले पार्टी परिवर्तन नगर्ने बताएकी छन् । नेकपा एमाले औपचारिक रुपमा विभाजित भएर नयाँ दल बनेपछि शाक्यको सरकार अल्पमत परेको छ । उनले सत्ता टिकाउनकै लागि पार्टी परिवर्तन नगर्ने बताएकी हुन् । 

१ सय ९ सदस्यीय वाग्मती प्रदेशसभामा एमालेको सभामुखसहित ५६ सांसद छन् । सरकार गठनका लागि ५५ सांसद चाहिन्छ । तर, आधा दर्जनभन्दा बढी सांसदहरु एमाले विभाजन भएर नवगठित नेकपा (एकीकृत समाजवादी) मा संलग्न भएपछि शाक्यको पद धरापमा परिसकेको छ । यस्तो अवस्थामा मुख्यमन्त्रीको पद जोगाउन शाक्यलाई दल परिर्वतन एक विकल्प हुनसक्छ । तर, उनले राजनीतिक जीवनमा धेरै विषय त्यागेर पार्टी निर्माण गरेको बताउँदै सत्ताका लागि पार्टी परिवर्तन नगर्ने बताएकी हुन् ।

अष्टलक्ष्मी शाक्य माधव नेपालले नेतृत्व गरेको एकीकृत समाजवादी पार्टीमा नआए उनी मुख्यमन्त्रीबाट आउट हुने सम्भावना बढिरहेको छ । समाजवादीका नेता राजेन्द्र पान्डेले एकीकृत समाजवादीमा शाक्य प्रवेश नगरी उनको मुख्यमन्त्री पद चट हने बताएका छन् ।

शाक्यले आफ्नो फरक मत एमालेमै राख्ने र वैचारिक संघर्ष गरिरहेन तर पार्टी परिवर्तन गरेर नजाने बताएकी छन् । ‘मैले २०२८ सालबाट समर्पण, त्याग र नैतिकताको राजनीतिक गरेको हुँ । पद र सत्ताको लागि राजनीति गरेको होइन । म फुटको पक्षमा छैन । नयाँ पार्टीमा हसताक्षर गर्न सक्दिन । मैले यस विषयमा माधवकुमार नेपाललाई जानकारी गराइसकेको छु,’ उनले भनिन् । शाक्यले एकहप्ताभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिने समेत बताइन् । नेकपा एमालेकी उपाध्यक्ष शाक्य भदौ २ गते बहुमतको आधारमा मुख्यमन्त्री पदमा नियुक्त भएकी थिइन् । 

प्रतिक्रिया दिनुहोस