मुम्बईको पहिलो जित, कोहलीको टिम बेंग्लोर ४६ रनले पराजित

बुधबार, ०५ बैशाख २०७५, ०९ : १७
मुम्बईको पहिलो जित, कोहलीको टिम बेंग्लोर ४६ रनले पराजित

मुम्बई इण्डियन्सले इन्डियन भारतमा जारी प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पहिलो जित हात पारेको छ । मंगलबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरलाई  ४६ रनले हराउदै मुम्बईले पहिलो जित निकालेको हो ।
मुम्बईस्थित वाङखेडे क्रिकेट स्टेडियममा घरेलु टोलीले दिएको २१४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बेंग्लोरले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १६७ रनमा समेटियो । बेंग्लोरका कप्तान विराट कोहलीले अविजित ९२ रन जोडेपनि टोलीलाई जित दिलाउन सकेनन् । आईपीएल क्रिकेटको इतिहासमा सर्वाधिक रन जोड्ने खेलाडी बनेका कोहलीले ७ चौका र ४ छक्का प्रहार गरेका थिए ।

यस्तै बेंग्लोरका क्विन्टन डी ककले १९, मन्दिप सिंहले १६ तथा क्रिस वोक्सले ११ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन् ।  बेंग्लोरलाई कम स्कोरमा रोक्न मुम्बईका कुर्नेल पाण्डयले ३ तथा जस्प्रित बुम्राह र मिचेल म्याकक्लिनघनले समान २ – २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले पुरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा २१३ रन जोडेको थियो । मुम्बईको लागि कप्तान रोहित शर्माले ९४ रनको योगदान दिदा इभिन लेविसले ६५ रन रनको योगदान गरे । यस्तै हार्दिक पाण्डयले अविजित १७ तथा कुर्नेल पाण्डयले १५ रन जोडे । बेंगलोरका कोरे एण्डरसन र उमेश यादवले समान २ – ३ विकेट लिए ।
यो जितसँगै मुम्बईले चार खेलमा पहिलो जित निकाल्न सफल भएको छ । जितपछि २ अंक जोडेको मुम्बई लिगको छैटौं स्थानमा उक्लिएको छ । पराजित बेंग्लोर चार खेलमा २ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

आईपीएलको शीर्ष स्थानमा सनराइजर्स हैदरावाद रहेको छ । हैदरावादले ३ खेलमा शतप्रतिशत जित हात पार्दै ६ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको कोलकाता नाइट राइडर्सले ४ अंक जोडेको छ । ४ अंक नै जोडेको किङस इलाभेन पन्जाब तेस्रो स्थानमा रहेको छ । -एजेन्सी

प्रतिक्रिया दिनुहोस