दिल्लीलाई ७१ रनले हराउदै कोलकत्ता विजयी

मंगलबार, ०४ बैशाख २०७५, ०९ : ४३
दिल्लीलाई ७१ रनले हराउदै कोलकत्ता विजयी


कोलकत्ता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शानदार जित निकालेको छ । सोमबार राति भएको खेलमा दिल्ली डेयरडेभिल्सलाई ७१ रनले हराउदै कोलकत्ताले शानदार जित निकालेको हो । कोलकत्तास्थित इडेन गार्डेन स्टेडियममा घरेलु टोली कोलकत्ताले दिएको २०१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्ली १४ ओभर २ बलमा अलआउट हुँदै १२९ रनमा समेटियो । दिल्लीका लागि ग्लेन म्याक्सवेलले सर्वा्धिक ४७ तथा ऋशाब पन्तले ४३ रन जोडेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

म्याक्सवेल र पन्तले बाहेक दिल्लीका अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । कप्तान गौतम गम्भीर मात्र ८ रनमा पेभेलियन फर्कदा मोहमद सामीले ७ र शाहबाज नदीमले ६ रन जोडे । दिल्लीलाई सस्तैमा समेट्न कोलकत्ताका सुनील नारिने र कुलदीप यादवले समान ३ – ३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले पुरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा २०० रन जोडेको थियो । कोलकत्ताको लागि नितिश रानाले ५९ रनको योगदान दिदा एन्ड्रयु रुसेलले ४१ रन जोडे ।

यस्तै रोविन उथप्पाले ३५, क्रिस लायनले ३१ र कप्तान दिनेश कार्तिकले १९ रनको योगदान गरे । दिल्लीका राहुल टेवाटियाले ३ तथा ट्रेन्ट बोल्ट र क्रिस मोरिसले समान २ – २ विकेट लिए । यो जितसँगै कोलकत्ता लिगको दोस्रो स्थानमा उक्लिएको छ । ४ खेलमा २ खेल जितेको कोलकत्ताले ४ अंक जोडेको छ । पराजित दिल्लीले ४ खेलबाट २ अंक मात्र जोडेको छ । दिल्ली लिगको सातौँ स्थानमा छ ।

आईपीएलमा अघिल्ला ३ खेलमा सतप्रतिशत नतिजा निकालेको सनराइजर्स हैदरावाद शीर्ष स्थानमा रहेको छ । हैदरावादले ६ अंक जोडेको छ । यस्तै लिगको तेस्रो स्थानमा किंग्स इलाभेन पञ्जाब, चौथोमा चेन्नाई सुपर किंग्स र पाँचौ स्थानमा राजस्थान रोयल्स रहेका छन् । -एजेन्सी

प्रतिक्रिया दिनुहोस