जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट

सोमबार, ०३ बैशाख २०७५, १९ : ४१
जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट

फाइल फोटो


चितवन । दसौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत क्षेत्रीय खेलहरु सकिएका छन् । वैशाख ७ गतेदेखि भरतपुरमा हुने जिल्लास्तरीय प्रतियोगिताको लागि क्षेत्रीय खेलहरु भएका थिए । आइतबार र सोमबार क्षेत्र नम्बर ३ को शारदानगरमा भएको प्रतियोगिताबाट दुई सय ५८ जना विद्यार्थीहरु जिल्ला स्तरीय खेलको लागि छनौट भएका छन् । प्रतियोगिता अन्तर्गत एथलेटिक्टसका १३ वटा विधा, कबड्डी र भलिबलका खेलहरु भएका थिए । क्षेत्र नम्बर ३ मा जानकी मावि अगाडि भएको छ । राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत मेघौलीको जानकी माविले लगातार तीन पटकसम्म प्रतियोगिता जितेर मेडल आफ्नो बनाएको थियो ।

प्रतियोगिताको आइतबार चितवन क्षेत्र नम्बर ३ (क)का प्रदेशसभा सदस्य कृष्णप्रसाद भुर्तेलले उद्घाटन गरेका थिए । उक्त प्रतियोगितामा २२ वटा विद्यालयबाट पाँच सय खेलाडीहरु सहभागी रहेका जिल्ला खेलकुद विकास समिति चितवनका कार्यालय प्रमुख रामजी ढकालले बताए । तीन वटै क्षेत्रका क्षेत्रीय खेलहरु सकिएकाले अब जिल्ला स्तरीय खेलको लागि तयारी सुरु गरिने जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष गंगालाल लामाले बताए । क्षेत्रीय खेलकुदमा भएका सबै विधाका खेलका साथै मार्सल आर्टको खेल समेत जिल्ला स्तरीय प्रतियोगितामा समावेश गरिने लामाको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस