काठमाडौं । नेकपा(माओवादी केन्द्र) ले वाम लोकतान्त्रिक गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजाने प्रस्ताव गरेको छ ।
आजदेखि शुरु भएको केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रस्ताव पेश गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा, प्रतिगमनविरुद्धको लडार्इं, एवं मुलुकको समस्या समाधानका लागि पनि गठबन्धनको निरन्तरता अत्यावश्यक रहेकामा जोड दिनुभएको छ ।
अध्यक्ष दाहालले पेश गरेका प्रतिवेदनमा भनिएको छ, “अहिलेको लोकतान्त्रिक राजनीतिक प्रणाली, प्रणाली, संविधान र राष्ट्रियताको रक्षा गर्दै देशमा आर्थिक समृद्धि, स्थायित्व र सुशासन कायम गर्न निर्माण गरिएको गठबन्धनलाई यहीरूपमा बुझ्ने र आगामी निर्वाचनसम्म कम्तीमा पनि कायम राख्ने पार्टीको नीति हुनेछ ।”
अध्यक्ष दाहालको प्रतिवेदनमा अगाडि भनिएको छ, “प्रतिगमनका विरुद्ध सङ्घर्षकै क्रममा वाम लोकतान्त्रिक गठबन्धन निर्माण भएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि प्रहार गर्दै प्रतिगमन गर्ने प्रवृत्तिलाई गठबन्धनले पराजित गरेको छ । यसलाई नरुचाउने शक्ति गठबन्धनलाई कमजोर पार्ने र भत्काउन लागिपरेका छन् ।”
गठबन्धनको संयुक्त सरकारले आफ्नो साझा नीति तथा कार्यक्रमसमेत सार्वजनिक गरेको सन्दर्भ जोड्दै अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदनमा त्यसलाई सफल कार्यान्वयन गर्न जोड दिने उल्लेख गरेका छन् ।
कोरोना नियन्त्रण, अर्थतन्त्रको पुनरुद्धार, जनताको जीवनस्तरमा सुधार गरी मुलुकमा सुशासन स्थापना गर्नु गठबन्धन र सरकारको प्राथमिकता रहेको रहेको प्रस्तावमा समावेश छ । सरकारलाई जनपक्षीय बनाउँदै सफल बनाउन पार्टीले आफ्नो ठाँउमा लागिपर्ने विषयलाई राजनीतिक प्रस्तावमा विशेष जोड दिइएको छ ।
अध्यक्ष दाहालले एमसिसी, लिपुलेक, कालापानी र लिम्पियाधुराको प्रश्नलाई पार्टीको घोषित नीतिअनुसार कूटनीतिक संवादका माध्यमबाट हल गर्न प्रयत्न गरिने उल्लेख गरेका छन् ।
आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजयी गराउने र सङ्घीय एवं प्रादेशिक निर्वाचनमार्फत देशको नेतृत्वदायी शक्तिका रुपमा स्थापित गर्ने गरी सङ्गठनात्मक कार्य अगाडि बढाउनुपर्नेमा जोड दिइएको छ ।
नयाँ सन्दर्भमा पार्टीको विचार, राजनीतिक कार्यदिशा, सङ्गठनात्मक संरचना र विभिन्न तहको नेतृत्व निर्माणका लागि राष्ट्रिय सम्मेलनको आयोजना गर्ने अध्यक्ष दाहालले प्रस्ताव गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विरासत दक्षिणपन्थीले बोक्न नसक्ने भन्दै अध्यक्ष दाहालले आफ्नै शक्तिमा भरपर्ने क्रान्तिकारी पार्टी निर्माण गर्ने र विचार मिल्ने वामपन्थी शक्तिसँग सहकार्य, मोर्चाबन्दी र ध्रुवीकरण गर्दै नेकपाको विरासत र स्वामित्वसमेत आफ्नो पार्टीले लिने उल्लेख गरेका छन् ।
पार्टी निर्माणको मूल आधार लेनिनवादी सङ्गठनात्मक सिद्धान्त नै भएको ठहर गर्दै अध्यक्ष दाहालले युवा, प्रौढ र ज्येष्ठ उमेर समूहको समूचित सन्तुलन एवं सर्वहार श्रमजीवी वर्ग र उत्पीडित समुदायकाबीचबाट लाखौँ कार्यकर्ता भर्ती गर्नु आजको आवश्यकता भएको बताए ।
अध्यक्ष दाहालले तत्कालीन नेकपा(एमाले) र आफ्नो पार्टीबीचको पार्टी एकता वस्तुगतरूपमा सही भएको ठहर गर्दै राजनीतिक प्रस्तावमा भन्नुभएको छ, “पार्टी एकता वस्तुत सही हुँदाहुँदै पनि केपी ओलीमा देखा परेका अहङ्कार, दम्भ र पदलोलुपताजस्ता कारणले नेकपा विघटन हुन पुग्यो ।”
विभाजित अवस्थामा रहेका सबै इमान्दार कम्युनिस्टलाई एकताबद्ध गर्दै फेरि पनि एउटै कम्युनिस्ट केन्द्र निर्माण गर्ने जिम्मेवारी आएको अध्यक्ष दाहालले स्पष्ट पारेका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ३० साउन २०७८, २० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
किसानलाई मल र दूधको बक्यौता तत्काल उपलब्ध गराउन माग
करिब एक करोडजनतासँग प्रत्यक्ष संवाद गरिएको दाबी
पोखरा विमानस्थलको छानबिनमा सरकारलाई साथ दिन्छौं : देव गुरुङ
माओवादीले भन्यो-‘शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गर्यो’
शिक्षक आन्दोलनमा माओवादी केन्द्रको ऐक्यबद्धता
बोल्दा निरङ्कुश सरकारले आफ्नै मन्त्रीलाई बर्खास्त गर्यो : माओवादी केन्द्र