विधान संशोधन गर्न अध्यक्ष ओलीले नेताहरुसंग आन्तरिक छलफल गर्ने

सफल खबर संवाददाता

शुक्रबार, २२ साउन २०७८, ११ : ३०
विधान संशोधन गर्न अध्यक्ष ओलीले नेताहरुसंग आन्तरिक छलफल गर्ने

काठमाडौं । पार्टी एकता प्रक्रिया चलिरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधान संशोधनका नेताहरुसँग आन्तरिक छलफल गर्ने भएका छन् ।

आगामी भदौ २७ र २८ गते हुने विधान महाधिवेशनको तयारीस्वरुप अध्यक्ष ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटीका सिमित नेताहरूसँग छलफल गर्न लागेका हुन् ।एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले अध्यक्ष ओलीले स्थायी र केन्द्रीय समितिका केही नेताहरुसँग आन्तरिक छलफल गर्न लागेको बताए ।

‘पार्टीलाई महाधिवेशनले छोएको छ, त्यसैको तयारी स्वरुप विधानबारे अध्यक्षले नेताहरुसँग छलफल गर्दैहुनुहन्छ’, तामाङले भने, ‘२०७१ सालको नवौं महाधिवेशनबाट पारित विधानमा नयाँ परिवेश अनुसार संशोधनका लागि प्रस्ताव तयार गर्नुपर्ने आवश्यक्ता रहेको छ ।’

नेताहरुका अनुसार पार्टी विधानलाई संघीय ढाँचा अनुसार बनाउने र ७० वर्षे उमेर हदम्याद लगायतका विषयमा छलफल गर्नुपर्ने छ । 

प्रतिक्रिया दिनुहोस