बुद्धकालीन नेपाली चलचित्र ’अंगुलीमाल’ बन्ने

रासस

शनिबार, १६ साउन २०७८, १७ : २७
बुद्धकालीन नेपाली चलचित्र ’अंगुलीमाल’ बन्ने

काठमाडौं । युवा निर्देशक अभय डंगोलको निर्देशन रहने ऐतिहासिक नेपाली चलचित्र ‘अंगुलीमाल’ बन्ने भएको छ । तत्कालीन समयमा गलत बाटो अँगालेका हिंस्रक अंगुलीमाललाई सिद्धार्थ गौतम बुद्धले सद्मार्गको लागि प्रेरित गरेको कथाबस्तुमा चलचित्र निर्माण गर्न लागेको हो ।

फोएसजी प्रोडक्सन र एए स्टार मिडियाको संयुक्त व्यानरमा सुरेन्द्र श्रेष्ठले चलचित्रलाई निर्माण गर्न लागेका हुन् । शुक्रबार मध्यपुर थिमिमा एक कार्यक्रमकाबीच चलचित्र निर्माणको घोषणा गर्दै निर्माता र अंगुलीमाल कथाबस्तुका लेखकबीच सहमति पत्रमा हस्ताक्षर गरिएको छ ।

‘चलचित्रलाई आउँदो दसैं र तिहारकोबीचमा शुभमुहूर्त गर्नेछौं’, कार्यक्रमको दौरान निर्माता सुरेन्द्र श्रेष्ठले भने । ऐतिहासिक कथाबस्तुलाई युवादेखि बृद्धावस्थाका दर्शकको रुचि बमोजिम निर्माण गर्ने योजना समेत श्रेष्ठले सुनाए । सोही अनुरूप एनिमेसन, भिएफएक्स तथा प्राविधिक रूपमा अब्बल बनाउनेदेखि कलाकारहरूको अडिसन लिने सम्मको तयारी भइरहेको छ ।

‘बुद्धको जन्म नेपालमा भएको थियो । तर यो विषयमा अन्तर्राष्ट्रिय स्तरमा गलत प्रचार भइरहेको छ । नेपाली भाषामै निर्माण हुने सिद्धार्थ गौतम बुद्धसँग सम्बन्धित अंगुलीमाल चलचित्रले यो भ्रमलाई चिर्नेछ । देशविदेशमा फिल्म प्रदर्शनी हुँदा यसले सकारात्मक सन्देश दिनेछ’, निर्देशक डंगोलको दाबी थियो ।

हुनपनि छिमेकी देश भारतले सिद्धार्थ गौतम बुद्धको जन्मस्थानको विषयमा भ्रमपूर्ण प्रचार गरेकोलाई अंगुलीमाल चलचित्रले चिर्ने विश्वास गर्न सकिन्छ । सिद्धार्थ गौतमले तत्कालीन भारतवर्ष अन्तर्गत बोधगयामा बुद्धत्व प्राप्त गरेपनि बुद्धको जन्मथलो आधुनिक नेपालको लुम्बिनी हो ।

संयुक्त राष्ट्र संघ अन्तर्गतको युनेस्कोले समेत बुद्धको जन्मस्थान बारे निर्विवाद नेपाल नै भएको जनाएको छ । निर्देशक डंगोलले एनिमेसन गरेर बनाउनुपर्ने भएकोले फिल्मको प्रि–प्रोडक्सन, प्रोडक्सन तथा पोस्ट प्रोडक्सन गर्न करिव दुई वर्ष लाग्ने बताए । कार्यक्रममा शिक्षासेवी तथा चलचित्रको लागि कथाबस्तु तयार गरेका रामेश्वर भुजूले अंगुलीमाललाई चलचित्रको पर्दामा उतार्न स्वीकृति दिएको जताए ।

‘हिन्दी लगायत धेरै भाषामा उनीहरूकै शैलीमा चलचित्र बनेका छन् । तर नेपालमा जन्मिएका बुद्धको कथाबस्तुलाई नेपाली शैलीमा बनाउन सकिरहेको थिएन । अब बन्ने अंगुलीमालले त्यो अभावलाई पूर्ति गर्न लागेको छ । यो सुखद संयोग हो’, भुजूको भनाइ थियो ।

कार्यक्रममा नेपाल साहित्य मन्दिरका अध्यक्ष तिलक प्रकाश कायस्थ, चलचित्र निर्माण कम्पनीका कानूनी सल्लाहकार मुकुन्द कृष्ण श्रेष्ठ, अंगुलीमालका प्रकाशक ईन्द्रकृष्ण श्रेष्ठ लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस