बाघ संरक्षणका लागि वातावरण संरक्षण गर्न आवश्यक छ : प्रधानमन्त्री देउवा

सफल खबर संवाददाता

विहीबार, १४ साउन २०७८, १३ : १४
बाघ संरक्षणका लागि वातावरण संरक्षण गर्न आवश्यक छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाघ संरक्षणका लागि वातावरण संरक्षण गर्न आवश्यक रहेको बताएका छन् ।  विश्व बाघ दिवसको अवसरमा ललितपुरको खुमलटारमा राष्ट्रिय बाघ संरक्षण समितिले गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले बाघको बासस्थान संरक्षण गर्न, चोरी  निकासी रोक्न सरकार प्रतिबद्ध रहेको बताए । 

उनले बाघको चोरी सिकारी रोक्न नेपाली सेनाबाट भइरहेको नियमित गस्ती लगायतका काम प्रशंसायोग्य रहेको उल्लेख गरे । उनले बाघ संरक्षणका लागि स्थानीयलाई नै परिचालन गराउँदा स्थानीयमा रोजगारीको पनि सिर्जना हुने बताए । 

बाघ र मानवबीच बेला बेलामा द्वन्द्व उत्पन्न हुने बताउँदै बाघको बसोबास क्षेत्र अतिक्रमणबाट जोगाउन जोड दिए । उनले नेपालमा संसारबाट बाघ हेर्न मानिसहरू आउने भएकोले पर्यटन प्रबर्द्धनमा पनि बाघको महत्त्वपूर्ण भूमिका रहेको बताए । 

कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीले नेपाल  सरकारले बाघ संरक्षणमा नेपालले ऐतिहासिक सफलता पाएको बताउँदै बाघको संख्या दोब्बर बनाउन सफल भएको जानकारी गराए । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन  क्वात्राले सन् १९७३ मा भारतमा ९ बाघ संरक्षण क्षेत्र रहेकोमा हाल ५० वटा संरक्षण क्षेत्र रहेको बताए । उनले बाघ संरक्षणमा भारतले महत्त्वपूर्ण भूमिका खेलिरहेको बताउँदै विश्वमा रहेका बाघको कूल संख्याको ७५ प्रतिशत बाघ भारतमा रहेको उल्लेख गरे।
 
यो वर्ष ‘बाघको अस्तित्व, मानवको दायित्व’ नाराका साथ बाघ दिवस मनाइएको छ । सन् २०१० मा नेपालमा १ सय २१ वटा बाघ रहेकोमा हाल बाघको संख्या २ सय ५० पुगेको छ । सन् १९१० मा रसियामा भएको अन्तर्राष्ट्रिय बाघ सम्मेलनले गरेको प्रतिबद्धता अनुसार नेपालले बाघको संख्या दोब्बर बनाउन सफल भएको हो । नेपालमा कति बाघको संख्या उपयुक्त हुन्छ भनेर अध्ययन गरिरहेको प्रकृति संरक्षण कोषले जनाएको छ । बाघमा रेडियोयन्त्र राखेर उसको गतिविधि अध्ययन भइरहेको र प्रतिमहिना औषतमा १ जना मान्छेलाई बाघले आक्रमण गर्ने गरेको कोषले जनाएको छ । 

बाघ संरक्षणका लागि नेपाली सेना, सामाजिक संस्थाहरू, सामुदायिक तह, ड्रोन लगायतका प्रविधिबाट बाघको संरक्षणका लागि काम भइरहेको छ । बाघको अवैध सिकार तथा व्यापार, बासस्थान साँघुरो हुँदै गएको, जलवायु परिवर्तन, रोगब्याधीको उपचार गर्न समस्या लगायतका विषय बाघ संरक्षणका लागि चुनौती रहेको कोषको भनाई छ ।  नेपाल, भारत, बंगलादेश र भुटानमा पाटे बाघ पाइन्छ । संसारका १३ देशमा ६ प्रकारका बाघ पाइन्छन् ।

प्रतिक्रिया दिनुहोस