काँग्रेस पदाधिकारी बैठक आजपनि बस्दै

सफल खबर संवाददाता

बुधबार, १३ साउन २०७८, ११ : ५१
काँग्रेस पदाधिकारी बैठक आजपनि बस्दै

file-photo

काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठक बुधबार बस्दैछ । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बोलाइएको बैठकमा क्रियाशिल सदस्यता छानविन समितिले बुझाएको प्रतिवेदनबारे छलफल हुने महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । बैठक ११ बजेका लागि तय भएको भएपनि बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक भएका कारण सुरु हुन ढिलाइ भएको उनको भनाइ छ । 

समितिले बुझाएको प्रतिवेदनमा देशभरबाट ८ लाख ५४ हजार ७ सय ११ जनाले क्रियाशिल सदस्यता पाएपनि केही जिल्ला र वडामा भने विवादका कारण सदस्यता टुंगो लाग्न सकेको छैन ।

समितिले बुझाएको प्रतिवेदनमा धनुषाको क्षेत्र नम्बर ४ र सर्लाहीको क्षेत्र नम्बर २ को विवाद मिल्न नसकेको उल्लेख छ । त्यस्तै बारा र सप्तरीको नयाँ सदस्यताबारे नेताहरुबाटै आवश्यक निर्णयका लागि समितिले अनुरोध गरेको छ । यस्तै सोलुखुम्बुका ५१५ जना र बाराका १६६ जनाको विषयमा पनि सहमति जुटाउन नसकिएकोले नेतृत्वलाई जिम्मेवारी प्रदान गरिएको छ । 

नवीकरणतर्फ ७७ वटै जिल्लाको क्रियाशिल सदस्यता टुंगो लगाएको समितिले नयाँ क्रियाशिल सदस्यताबारे केही स्थानमा विवाद भएपछि त्यसको टुंगो लगाउने जिम्मा केन्द्रलाई नै सुम्पेको हो । विभिन्न जिल्लाका ९५ वटा वडाका नयाँ क्रियाशिल सदस्यले १४ औं महाधिवेशन प्रक्रियामा भाग लिन नपाउने भएका छन् ।

पर्सा क्षेत्र नम्बर ३, धनुषा ४ र सर्लाही २ का क्रियाशिल सदस्यबारे समितिले पनि निर्णय गर्न नसकेर केन्द्रलाई नै जिम्मा लगाएको छ । यी समग्र विषयमा छलफल गरेर निकास दिइने काँग्रेस नेताहरुको भनाइ छ । 


 

प्रतिक्रिया दिनुहोस