कांग्रेसको वडा तहको अधिवेशन स्थगित, महाधिवेशन पनि सर्नसक्ने सम्भावना

सफल खबर संवाददाता

शनिबार, ०९ साउन २०७८, १३ : ०९
कांग्रेसको वडा तहको अधिवेशन स्थगित, महाधिवेशन पनि सर्नसक्ने सम्भावना

फाइल फोटो

काठमाडौँ ।  नेपाली कांग्रेसले वडा अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ । आज बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले कोरोना संक्रमण र समय अभावका कारण साउन १२ गतेको वडा अधिवेशन स्थगित गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

उनले भने, ‘केन्द्रीय महाधिवेशन गर्नुपूर्व साउन १२ गतेबाट वडा अधिवेशन तय गरेका थियौँ । अब तीन दिन मात्रै बाँकी छ वडाको अधिवेशनका लागि । समयको चाप रहेकै बेला जिल्ला जिल्लाबाट कोरोना संक्रमण बढिरहेको अबस्थामा समस्या आएको साथीहरूले पनि बताइरहनुभएको छ । आजको बैठकले साउन १२ गते हुने भनेको स्थगन गर्ने परामर्श गरेको छ । साउन १२ गतेका दिन स्थगन हुनको अर्थ केन्द्रिय महाधिवेशनको मिति सर्छ भन्ने होइन ।’

प्रवक्ता शर्माले क्रियाशिल सदस्यता छानविन समितिले धेरै स्थानको सदस्यताको टुंगो लगाइसकेको र साउन १२ गते समितिले तयार गरेको प्रतिवेदन सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने समेत जनकारी दिए । उनले भने, ‘साउन १२ गते बिहान ९ बजे प्रतिवेदन हस्तान्तरण गर्नुहुनेछ । साउन १२ गतेपछि छलफल गरेर वडा अधिवेशनको नयाँ मिति तय गर्छौं ।’

अधिकांश स्थानको क्रियाशिल सदस्यता विवाद समाधान भइसकेको र केही स्थानको टुंगिन बाँकी रहेको प्रवक्ता शर्माले जानकारी दिए । उनले भने, ‘अधिकांश ठाउँमा सर्वसम्मत निर्णय भइसकेको छ । १२ गते हस्तान्तरण गर्नुपूर्व बाँकी स्थानको टुंगो लगाएर प्रतिवेदन तयार हुनेछ ।’

वडा अधिवेशन प्रभावित भएसँगै कांग्रेसको आगामी भदौका लागि तोकिएको महाविधेशनसमेत सर्नसक्ने सम्भावना रहेको तर तोकिएको मितिमा महाधिवेशन गर्न कांग्रेसले प्रयत्न भने गरिरहने प्रवक्ता शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस