भारतमा थप ३५ हजार सङ्क्रमित, कुल ४२ करोडले लगाए खोप

एजेन्सी

शुक्रबार, ०८ साउन २०७८, १५ : ३२
भारतमा थप ३५ हजार सङ्क्रमित, कुल ४२ करोडले लगाए खोप

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट थप ३५ हजार ३४२ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । त्यसैगरी पछिल्लो एक दिनमा अरु ३८ हजार ७४० भन्दा बढी कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको अधिकारीहरुले जनाएका छन् ।  

नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितहरुको कुल सङ्ख्या घटेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा अहिले सक्रिय अवस्थामै रहेका सङ्क्रमितहरुको सङ्ख्या चार लाख पाँच हजार ५१३ रहेको छ ।

भारतमा कोरोनाभाइरसबाट कुल मृतकको सङ्ख्या अहिलेसम्म चार लाख १९ हजार ४७० पुगेको अधिकारीहरुले जनाएका छन् । तीमध्ये ४८३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । 

भारतीय चिकित्सा अनुसन्धान परिषदले अहिलेसम्म भारतमा ४५ करोड २९ लाख ३९ हजार ५४५ ओटा स्वाब परीक्षण गरिएको छ । पछिल्लो एक दिनमा भने १६ लाख ६८ हजार ५६१ जनाको कोरोना परीक्षण गरिएको परिषदले जनाएको छ । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या ९७।३६ प्रतिशत रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म ४२ करोड ३४ लाख १७ हजार ३० जनालाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । तीमध्ये ३३ करोड ३९ लाख ४५ हजार १५१ जनाले खोपको पहिलो मात्रा मात्रै लगाएका छन् भने अरु आठ करोड ९४ लाख ७१ हजार ८७९ जनाले दुवै खोप लगाएका छन् । 

भारतमा पछिल्लो २४ घण्टामा देशभरी कुल ५४ लाख ७६ हजार ४२३ जनालाई कोरोनाभाइरसविरुद्धको खोप लगाइएको छ । –एएनआई