सत्ता साझेदार दल मिलाउन प्रधानमन्त्री देउवाको रणनिति : अझै एक साता मन्त्रिमण्डल विस्तार नगर्ने

सफल खबर संवाददाता

विहीबार, ०७ साउन २०७८, ०९ : २१
सत्ता साझेदार दल मिलाउन प्रधानमन्त्री देउवाको रणनिति : अझै एक साता मन्त्रिमण्डल विस्तार नगर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्को साता मात्र मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । संसदमा विश्वासको मत लिएर मात्रै मन्त्रीमण्डल विस्तार गर्ने योजना बनाएका प्रधानमन्त्री देउवाले साउन ३ मा विश्वासको मत लिएपछि मन्त्रीमण्डल विस्तार गरिहाल्छन् भन्ने धेरैको अनुमान थियो ।

तर देउवाले अझै एक साता मन्त्रीमण्डल विस्तार नगर्ने नीति बनाएका छन् । सरकार निर्माणमा सहयोगी गठबन्धन दलहरुको आन्तरिक राजनीति मिलाउनु पर्ने र त्यही बीचमा पहिले सरकारको साझा नीति तथा कार्यक्रम निर्माण गरेपछि मात्र सरकार विस्तार गर्ने तयारीमा देउवा पुगेका छन् ।सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको छलफलमा पनि देउवा प्रचण्ड सोही निश्कर्षमा पुगेका कारण मन्त्रीमण्डल विस्तारका लागि अझै एक साता कुर्नुपर्ने स्थिती बनेको छ ।

सरकारको नीति तथा कार्यक्रम निर्माणका लागि काँग्रेसबाट पूर्णबहादुर खड्का, माओवादी केन्द्रबाट वर्षमान पुन, जसपाबाट राजेन्द्र श्रेष्ठ लगायत नेताहरुले गृहकार्य गरिरहेका छन् । माधव नेपाल समुहबाट भीम रावललाई त्यो कार्यदलमा राख्ने भनिएपनि रावल नेपालसँगै असन्तुष्ट भएर ओलीतिर नजिकिन खोजेपछि सहभागी छैनन् । नेपाल पक्षले पार्टीभित्रको विवादमा कुनै निर्णय लिन नसक्दा पनि सरकार बिस्तारमा ढिलाई हुन लागेको हो ।  एमालेमा नेपाल सहित २२ सांसदलाई ओली पक्षले स्पष्टीकरण सोधेको छ ।

नेपाल पक्षले आवश्यक ठानेमा दल निर्माणका लागि सहज हुने गरी दल विभाजन अध्यादेश ल्याईदिन काँग्रेस माओवादी सहमत देखिएका छन् । त्यसमा नेपाल समुहले अब के गर्छन् ? भन्ने केही दिन अझै पर्खने सोचमा प्रधानमन्त्री देउवा पुगेका छन् । अर्कोतिर जनता समाजवादी पार्टीको विवाद पनि निर्वाचन आयोगमा छ । साउन ३ बाट इजालसै गठन गरेर सुनुवाई गरिरहेको आयोगले आजबाट फेरि दैनिक दुई घण्टाका दरले सुनुवाई लाई निरन्तरता दिन लागेको छ । देउवालाई जसपको उपेन्द्र बाबुराम पक्षले मात्र होइन, महन्थ ठाकुर पक्षले पनि विश्वासको मत अन्तिम समयमा दिएकोले कतै अब जसपा फेरि मिल्छन् की भन्ने पनि थियो । तर त्यसमा उपेन्द्र पक्ष कठोर नै देखिएका छ ।

यसले यो विवाद पनि केही दिनमै छिनोफानो हुन सक्ने भएकाले त्यसलाई पनि पर्खेर बस्ने योजनामा देउवा पुगेका हुन् । एमालेको माधव नेपाल समुह सरकारमा जादा पार्टी विभाजनको अवस्था पछि मात्र जान सक्ने स्थिती निर्माण भएको छ । त्यसैले पनि नेपाल समुह सरकारमा जाने, नजाने  त्यसको निक्र्यौल निकालेर मात्र देउवा प्रचण्डका बीचमा मन्त्रालय भागवन्डा लगाउने र मन्त्रिपरिषद् विस्तार गर्ने योजना बनेको हो ।

माधव नेपाल समुह सरकारमा आउँछ, आउँदैन, उहाँहरुको निर्णय आएको छैन्, उहाँहरुले त्यसमा निर्णय दिएपछि सरकार विस्तार गर्ने तयारीमा प्रधानमन्त्री हुनुहुन्छ, काँग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले भने, माधव नेपाल समुहले केही दिनमा यस बारेमा निर्णय देला अनिमात्र थप छलफल होला । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि बुधबारको स्थायी कमिटि बैठकमा अझै केही दिन मन्त्रिपरिषद् विस्तार नहुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस