माओवादी केन्द्रले बोलायो स्थायी कमिटि बैठक, मन्त्रीबारे छलफल हुने

सत्ता गठबन्धनमा ८ मन्त्रालय प्रधानमन्त्री देउवासँग माग

सफल खबर संवाददाता

बुधबार, ०६ साउन २०७८, ०८ : ३०
माओवादी केन्द्रले बोलायो स्थायी कमिटि बैठक, मन्त्रीबारे छलफल हुने

काठमाडौं । माओवादी केन्द्रले पार्टी स्थायी कमिटिको बैठक बोलाएको छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादीले स्थायी कमिटिको बैठक बोलाएको हो । काँग्रेससँग सत्ता साक्षेदारी गरेको माओवादीले प्रधानमन्त्री शेरबहादुर देउवासँग हिजो मंगलबार भएको दुर्इ चरणको छलफलपछि आज स्थायी कमिटिको बैठक बोलाएको हो ।

बैठकमा सरकारमा जाने मन्त्रीहरु, सरकार सञ्चालन र सरकारका साझा नीति तथा कार्यक्रम तथा सरकार सञ्चालनका लागि उच्चस्तरीय राजनीतिक संन्यत्र लगायत समसामायिक विषयमा छलफल हुनेछ । ‘बैठक १ बजे समसामायिक विषयमा छलफलका लागि भनेर स्थायी कमिटिको बैठक बोलाइएको छ, त्यहाँ समग्र राजनीति, सरकार सञ्चालनका साझा नीति तथा कार्यक्रम लगायत मन्त्रीहरुका विषयमा पनि कुराकानी हुन सक्छन्,’– स्थायी कमिटि सदस्य लिलामणि पोखरेलले बताए । माओवादीले सत्ता गठबन्धनमा ८ मन्त्रालय प्रधानमन्त्री देउवासँग माग गरिरहेको छ ।

तर देउवाले सत्ता गठबन्धन सबैलाई मिलाउनु पर्ने र आफ्नै पार्टीभित्रको पनि गुट ब्यवस्थापन गर्नुपर्ने भएकाले माओवादीलाई अव थप ४ वटा मन्त्रालय दिने प्रस्ताव गरिरहेका छन् । माओवादीले अर्थमन्त्रीमा जर्नादन शर्मा र उर्जा, जलस्रोत तथा सिञ्चाईमा पम्फा भुषाललाई मन्त्री बनाईसकेको छ । अन्य नेताहरु क कसलाई मन्त्री बनाउने भन्नेमा माओवादीले पार्टीमा छलफल गर्न लागेको हो ।

माओवादीमा सरकारको नेतृत्व गरेर कसलाई पठाउने भन्ने विषयमा पनि छलफल हुनेछ । नारायणकाजी श्रेष्ठ प्रकाशलाई सरकारको नतेृत्व गरेर पठाउने विषयमा पनि छलफल छ । मन्त्रीका लागि हरिबोल गजुरेल, देवेन्द्र पौडेल, हरिराज अधिकारी, हितवहादुर तामाङ, सुदन किराती, अन्जना विसंखे, शिवकुमार मण्डल, महेश गहतराज, सुरेशकुमार राई लगायत नेताहरुको चर्चा छ ।

प्रतिक्रिया दिनुहोस