राष्ट्रपति जोभेनल मोइजको हत्यापछि सङ्कटबाट प्रभावित क्यारिबियन राष्ट्र हैटीमा अस्थिरता मौलाउने खतरा देखिएको भन्दै त्यहाँको अन्तरिम सरकारले संयुक्त राष्ट्र संघ र संयुक्त राज्य अमेरिकालाई आफ्नो बन्दरगाह, एयरपोर्ट र अन्य रणनीतिक स्थलहरू सुरक्षित राखिदिन आग्रह गरेको हैटीका एक उच्च अधिकारीले बताएका छन् ।
हैटीका राष्ट्रपति मोइजलाई गत बुधबार गोली हानी हत्या गरिएको थियो । मोइसलाई उनको घरमा गोली हानी हत्या गरिएको दुई दिन पछि संयुक्त राज्यले एफबीआई र अन्य एजेन्टहरू पोर्ट–ओ–प्रिन्स पठाउने कुरा गरिसकेको छ ।
निर्वाचन मन्त्री म्याथियस पियरेले एएफपीसँग भने, “हैटीका राष्ट्रपति मोइजको हत्याकाण्डपछि सेनाले अराजकता पैदा गर्नका लागि केही पूर्वाधार नष्ट गर्न सक्छ भन्ने लागेको छ । अमेरिकी विदेश सचिव र संयुक्त राष्ट्र संघीय अधिकारीबीचको वार्तापछि हामीले हैटी सरकारलाई आवश्यक सहयोग गर्ने अनुरोध गरेका हौं ।”
अमेरिकी विदेश विभाग र पेन्टागन दुवैले ‘सुरक्षा र अनुसन्धान सहयोग’ को लागि अनुरोध प्राप्त भएको पुष्टि गरेका छन् तर शान्ति सेना खटाउने भनेर प्रष्ट सूचना भने दिएका छैनन् । यद्यपि अधिकारीहरू पोर्ट–ओ–प्रिन्सको सम्पर्कमा रहेको उनीहरूले बताए ।
संयुक्त राष्ट्र संघले यसबारे प्रतिक्रियाको लागि अनुरोधप्रति तत्काल स्पष्ट प्रतिक्रिया दिन अस्वीकार गरेको छ । संयुक्त राष्ट्रसंघका कूटनीतिक स्रोतले सुरक्षा परिषद्को प्रस्तावलाई हैटीवासीहरूले भनेको जस्तै गर्न आवश्यक भएको सङ्केत गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २६ असार २०७८, १३ : ०२
लेखकबाट थप