हाइटीका राष्ट्रपतिको हत्यामा २८ जना संलग्न रहेको प्रहरीको दाबी

रासस

शुक्रबार, २५ असार २०७८, १४ : ३५
हाइटीका राष्ट्रपतिको हत्यामा २८ जना संलग्न रहेको प्रहरीको दाबी

हाइटी । हाइटीका राष्ट्रपति जोभिनल मोइसको हत्यामा २८ जना व्यक्ति संलग्न भएको प्रहरीले जनाएको छ। त्यसमध्य २६ जना कोलम्बिया तथा २ जना भने हाइटी अमेरिकी रहेको बताइएको छ।

ती मध्ये ३ जनाको प्रहरीको गोली लागेर मृत्यु भएको छ। यद्यपि बुधवार प्रहरीले चार जनाको मृत्यु भएको पुष्टि गरेको थियो। हत्यारा र प्रहरीबीचको भिडन्त भने जारी रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले ले जनाएका छन्।

हाइटी प्रहरीका निर्देशक लियोन चाल्र्सले १५ कोलम्बियाली र दुई हाईटियन अमेरिकीलाई पक्राउ गरेको बताए। तीन कोलम्बियाली मारिएका छन् भने आठ अझै फरार छन्। चाल्र्सका अनुसार हत्याराहरू यस घटना पश्चात भागिरहेको समयमा प्रहरीले उनीहरुलाई घेरेको थियो।

त्यसबेलादेखि दुवै पक्षबाट गोलीबारी भइरहेको बताइएको छ। बुधबार बिहान करिब ५ बजेतिर भारी हतियारधारी हत्याराहरूले हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सस्थित राष्ट्रपति भवनमा तोडफोड गर्दै ५३ वर्षीय राष्ट्रपति जोभिनल मोइस र उनकी पत्नी मार्टिना मोइसलाई गोली प्रहार गरेका थिए।

१२ वटा गोली लागेका राष्ट्रपति मोइसको घटनास्थलमै मृत्यु भएको थियो। उनकी श्रीमती भने गम्भीर घाइते भएकी थिइन्। उनको उपचार भइरहेको र अवस्था स्थिर रहेको बताइएको छ। राष्ट्रपतिका तीन सन्तानहरु भने सुरक्षित ठाउँमा रहेको बताइएको छ।

अधिकारीहरूले अझै षड्यन्त्रकारीहरूले राष्ट्रपतिको ज्यान किन लिए भनेर खुलाएका छैनन्। यद्यपि २०१७ मा मोइस राष्ट्रपति बने यता धेरै विरोध प्रदर्शन भइरहेका छन्।

उनीमाथि भ्रष्टाचारको आरोप तथा अर्थव्यवस्थाको व्यवस्थापनबाट जनता खुशी थिएनन्। मोइसको हत्या पछि हाइटीमा अब कसले शक्ति लिन्छ भन्ने चर्चा भएको बताइएको छ।

गत हप्ता एरियल हेनरी नयाँ प्रधानमन्त्रीको रूपमा चुनिए तापनि उनले शपथ लिन पाएका थिएनन। पुराना प्रधानमन्त्री जोसेफ क्लाउडले प्रधानमन्त्रीको रूपमा काम गरेका छन्।

हाल दुई बीचको द्वन्द्व सुरु भएको छ। कोभिडको कारण गत महिना सर्वोच्च अदालतको प्रमुखको मृत्यु भएको थियो। २०१९ को चुनाव रद्द भएका कारण संसद पनि खाली नै रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस