प्रधानमन्त्री ओली किन हुँदैंछन् संविधान, विधि पद्धती मिच्ने पात्रको रुपमा परिचित ?

सफल खबर संवाददाता

शनिबार, १९ असार २०७८, ०९ : ०४
प्रधानमन्त्री ओली किन हुँदैंछन् संविधान, विधि पद्धती मिच्ने पात्रको रुपमा परिचित ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मामा सत्तामोह ह्वात्तै बढेपछि कहि यो कुर्सीबाट हटनु त पर्दैन भन्ने लागेपछि हुँदाखाँदाको दुई तिहाई नजिकको पार्टी फुटाए, असंवैधानिक क्रियाकलाप अगाडी बढाए, यति सम्मकी दुईदुई पटक सम्म प्रतिनिधीसभाको विघटन नै गरे । जसको अहिले पनि सर्वोच्च अदालतमा सुनुवाई भईरहेको छ । 

सत्ताको मोहमा घर न घाटको अवस्थामा पुगेका उनले पछिल्ला दिनमा अब कसरी आफू सरकारमा टिक्ने भन्दा अरु कुनै पनि विकल्प नै देखेको छैनन् । मानिसहरुले बा भन्दै प्रशंसाका फूल चढाएपनि राजनीतिक सन्दर्भमा हेर्दा ओली नेपालको राजनीतिमा संविधान मिचाहा, विधि मिचाहा र गैरकानूनी हर्कत गर्ने एउटा पात्रको रुपमा स्थापित भएको जानकारहरुको टिप्पणी छ ।  राजनीतिलाई दिशाबिहिन बनाउने, नेपाली जनताको भावना माथि खेलबाँड गरेको तथा संविधान विपरितको हर्कत गरेको आरोप होइन, उनले नेपाली जनता माथि ज्यादती नै गरेको आरोप समेत लाग्ने गरेको छ ।

कोरोनाले अर्थतन्त्र चौपट भयो । गरिखाने मानिसहरु भोकै मर्ने अवस्थामा पुगे । मजदुरहरुको चुल्हो बल्न छाड्यो । तर, त्यही वर्गको नाममा राजनीतिको शिखर चढेका ओलीले त्यही वर्गलाई सम्झन चाहेनन् । ती वर्ग कहाँ पुगे, बालुवाटारको चार दिवारले देखेन । उनका उखान टुक्का र विरोधीमाथि गरिने तिखो प्रहारले देखेन । ओलीको राजमा त्यस्तै भएको छ ।  ओलीले संवैधानिक निकायमा गरेका नियुक्ति देखि पछिल्ला दिनमा गरिएका राजनीतिक नियुक्ति हेर्दा समेत स्पष्ट देखिन्छ, कि कही कतै पनि समन्यायिकता भन्ने विषय नै भेटिदैन । ओली र उनका नजिकका मानिसहरुको चालढाल र भावभंगी हेर्दा स्पष्ट देखिन्छ कि उनीहरु कुनै पनि संवैधानिक मूल्य र मान्यतालाई आत्मसात् नै गर्न चाहँदैनन् । ओलीले गरेका केही भाषण हेरौ । पछिल्लो पटक उनले आफनै पार्टीका नेता माधवकुमार नेपालमाथि गरेको टिप्पणी ।

कुनै राजनीतिक नेतृत्वले गर्ने खालको टिप्पणी थियो त त्यो ? आम जानकारहरु भन्छन्, सामान्य बोलीचालीमा समेत प्रयोग गर्न नहुने र नमिल्ने खालको टिप्पणी ओलीले गरेका छन् । माधव नेपाल ओली भन्दा पहिले १५ वर्ष पार्टी नेतृत्व चलाएका नेता हुन् । समकालीन राजनीतिमा बढी इमान्दार राजनीतिक नेतृत्व हुन् उनी । उनी आफै केही नभएपनि देश र जनताको हित विपरित जाँदैनन् । गलतलाई गलत भन्ने ल्याकत राख्छन् । उनलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको भन्ने आम चर्चाका बीचमा मदन जयन्तीको अवसरमा ओलीले भनेका थिए, माधव नेपाललाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न आफूलाई बहुलाह कुकुरले टोकेको छ र ? राजनीतिक नेतृत्वको व्यवहार, चिन्तन, बोली कुन अर्थमा मिल्दो र सुहाउँदो छ । राजनीतिमा इमान र प्रतिष्ठा सकिएपछि आफूलाई नेता भनाउनेहरु चरम गाली गलौजमा उत्रन्छन् । 

ओलीलाई दुई दुई पटक प्रधानमन्त्री बनाउने पात्र प्रचण्ड हुन् । माधव नेपालदेखि झलनाथ खनालसम्मलाई प्रधानमन्त्री बनाउने पनि प्रचण्ड नै हुन् । प्रचण्डले प्रधानमन्त्री बनाउन बाँकी केवल वामदेव गौतम मात्रै थिए । उनको समेत पालो आउने क्रममा नै थियो । आफूलाई सहयोग गर्दासम्म त्यही प्रचण्ड ठिक हुने, जब आफनो स्वार्थ पूरा हुन्छ नी त्यही प्रचण्डको सत्तोसराप गर्ने प्रवृत्ति पनि ओलीमा हावी छ । ओली कुनै पनि प्रकारको आलोचना रुचाउँदैनन्, उनी कुनै पनि प्रकारको आलोचनात्मक चेतलाई सम्मान गर्दैनन् ।  ओली यतिबेला लोकतन्त्रका लागि १४ वर्ष जेल बसेको दावी गर्छन् । तर झापा आन्दोलनका ज्यूदा नेताहरुको भनाईलाई आत्मसात् गर्ने हो भने स्पष्ट रुपमा के देखिन्छ भने ओली न त विगतमा जनताप्रति प्रतिबद्ध थिए, न त आज छन्, न त भोलि नै हुन्छन् । 

ओलीले दिने हरेक भाषण झुठै झुटका पुलिन्दा मात्रै हुन् । उनलाई आफूमात्रै सर्वेसर्वा र जान्ने सुन्ने भएको पनि घमण्ड छ । किनकी, उसले आफू बाहेक अरु सबै मूर्ख भन्ने ठान्छ । राजनीतिक रुपमा घमण्डी  र दम्भी चिन्तन भएका नेताको व्यवहार र शैली पनि त्यस्तै नै हुन्छ ।  यो सामान्तवादी चिन्तनको स्वरुप नै भएको समाज विज्ञानका जानकारहरुको टिप्पणी छ । आफू भन्दा अरु कोही पनि जान्ने सुन्ने नभएको तथा अरुहरु सबै खराब र आफू मात्रै राम्रो भन्ने मानसिकताका पछाडि रहेको सामाजिक वर्गभेद तथा राजनीतिक दर्शन पनि सामन्तवाद नै हो । ओलीलाई बा भन्दा खुसी लाग्नु तर कमरेड भन्दा मन नपर्नुले पनि उनी कम्युनिस्ट आदर्श र चिन्तनबाट नराम्ररी स्खलित भएको प्रष्ट हुन जान्छ । उनको यो शैलीलाई एकाध दिनपछि आउने सर्वोच्च अदालतको फैसलाले थप प्रष्ट पारिदिनेछ ।

संविधान मिचेर जसरी ओलीले प्रतिनिधिसभाको विघटन गरे त्यो आफैमा एउटा चरम राजनीतिक उपहासको विषय हो । उनले गरेको गलत निर्णयलाई गत फागुन १३ गते जसरी सर्वोच्च अदालतले खारेज गरिदिएको थियो, त्यस्तै निर्णय अब आउने फैसलाले समेत गर्नेछ । राजनीतिक एवम् कानूनी क्षेत्रका जानकारहरुका अनुसार ओलीको सबैखालका तिकडमहरु विरुद्ध अब अदालत पनि प्रष्ट भइसकेको छ । नेपालको संविधानले प्रतिनिसभा कुनै पनि हालतमा विघटन गर्न नसक्ने स्पष्ट व्यवस्था गरेको छ । तर बालुवाटार शीतल निवासको अराजनीतिक साँठगाँठका कारण नेपाली जनताले नराम्ररी दुःख पाए ।

संविधान मास्ने काममा बालुवाटकार मुखिया र शीतल निवासको मुखियाको मिलेमतो रहेका तथ्यलाई सामान्य नागरिकले समेत विश्लेषण गर्न सक्छन् । किन उनीहरु यो निष्कर्षमा पुगे भन्ने कुराको समेत सामान्य चित्रणसहितको व्याख्या ग्रामीण क्षेत्रमा एक निरक्षर नागरिकले समेत गर्न सक्छ ।  

एकाध दिनपछि सर्वोच्चले आफना विरुद्ध फैसला सुनाउने तयारी गरेको अन्दाज पाएका ओली यतिबेला सर्वोच्चका प्रधानन्यायाधीशदेखि न्यायाधीशलाई समेत धम्क्याउन थालेका छन् । उनले केही दिन अघि  मलेखुमा स्याल कराएको भन्दै त्यसको संकेत नै गरिसकेका थिए । आम मानिसले सत्ताधरी दलको मुख्य नेतृत्वकोमा रहेको गैर समाजिक  चरित्रको बारेमा स्पष्ट दृष्टिकोण बनाउने अवसर पनि पाएक छन् । उनीहरुले पनि खास अर्थमा रहेको गैर राजनीतिक अवसरवादको रुपमा स्पष्ट हुने अवसर पनि पाएका छन् । 
 

प्रतिक्रिया दिनुहोस