चीनमा भव्य समारोहका बिच उत्सव मनाईदैं चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सयौँ वर्षगाँठ

चीन अब समाजवादी आधुनिक शक्तिशाली मुलुकको रूपमा अघि बढिरहेको राष्ट्रपति सि चिनफिङको भनाई

एजेन्सी

विहीबार, १७ असार २०७८, ११ : १३
चीनमा भव्य समारोहका बिच उत्सव मनाईदैं चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सयौँ वर्षगाँठ

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको शतवार्षिकीको उपलक्ष्यमा चीनको राजधानी बेइजिङमा भव्य समारोहको आयोजना गरिएको छ। समारोह मनाउनकै लागि बेइजिङमा अनेक परेड, झाँकी तथा प्रदर्शनीहरु निकालिएको छ । सय वर्ष पुगेको उपलक्ष्यमा  सत्तारूढ पार्टीले यो दौरान प्राप्त गरेको उपलब्धीहरुको पनि प्रदर्शन गरेका छन् । 

वार्षिकोत्सव समारोहमा भाग लिन पार्टीका ७० हजारभन्दा बढी सदस्य थ्यानआनमन चोकमा भेला भएका छन्। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले उक्त कार्यक्रममा सम्बोधन समेत गरेका छन् । सम्बोधनको क्रममा राष्ट्रपति सीले चीनले समृद्ध समाज निर्माणको चरण पार गरेको बताए।

सबैको मेहनत तथा संघर्षपश्चात चीनले खुशीयालीयुक्त समाज निर्माण पूरा गरेको बताउँदै सीले चीन अब समाजवादी आधुनिक शक्तिशाली मुलुकको रूपमा अघि बढिरहेको बताए।  सीले चिनियाँ कम्युनिस्ट पार्टी नभएमा नयाँ चीनको स्थापना र राष्ट्रको पुनरूत्थान असम्भव भएको बताउँदै पार्टीको नेतृत्वमा सबै अडिग रहनुपर्ने बताए। उनले भने, ‘चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व चिनियाँ विशेषतायुक्त समाजवादको आवश्यकता हो, चिनियाँ विशेषतायुक्त परिपाटी देशको जग र जीवनरक्त हो।’ 

बिहीबार बिहान आयोजना गरिएको  कार्यक्रममा फाइटर जेट विमान र युद्धपोतको प्रदर्शन गरिएको थियो भने राष्ट्रवादी गीत बजाइएको थियो । पछिल्लो केही सातायता चीनको कम्युनिस्ट पार्टीले अनुमोदन गरेको चीनको इतिहासलाई बढावा दिने गरी चिनियाँ सञ्चारमाध्यमहरुले पनि प्रचार गरिरहेका छन् । 

लामो समयको गृहयुद्धपछि कम्युनिष्ट पार्टी ७२ वर्षपछि सत्तामा आएको थियो । त्यसयता चीनमा निकै ठूलो परिवर्तनहरु भएका छन् । सन् १९२१ जुलाई १ तारिख चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना भएको थियो। पार्टी तथा जनसंघर्षको नेतृत्व गरेका अध्यक्ष माओ चतुङले सन् १९४९ को अक्टोबर १ तारिख राजधानी बेइजिङस्थित थ्यानआनमन चोकमा जनगणतन्त्र चीनको घोषणा गरेका थिए।