कोपा अमेरिका : अर्जेन्टिनाद्धारा बोलिभिया ४–१ ले पराजित

एजेन्सी

मंगलबार, १५ असार २०७८, ०८ : १८
कोपा अमेरिका : अर्जेन्टिनाद्धारा बोलिभिया ४–१ ले पराजित

एजेन्सी । कोपा अमेरिका अन्तर्गत मंलबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले बोलिभियाविरुद्ध सानदार प्रदर्शन गरेको छ । खेलमा अर्जेन्टिनाले बोलिभियालाई ४–१ ले पराजित गरेको छ । जुन खेलमा कप्तान लियोनल मेसीले अर्जेन्टिनाको जर्सीमा सर्वाधिक खेल खेल्ने खेलाडीको किर्तिमान बनाएका छन् । उनले राष्ट्रिय टीमबाट १ सय ४८ औं खेल खेलेर नयाँ रेकर्ड बनाएका हुन् । 

यसअघि जाभियर मास्चिरानो र मेसीका नाममा सर्वाधिक १ सय ४७ खेल खेल्ने किर्तिमान थियो । जुन आजको खेलसँगै उनले तोडे । आजको खेलको खेलको छैटौं मिनेटमै अलेज्यान्द्रो गोमेजले मेसीको पासमा अर्जेन्टिनालाई अग्रता दिलाए । त्यसपछि मेसीले ३३ मिनेटमा पेनाल्टीमार्फत अर्जेन्टिनाको अग्रता दोब्बर पारे । पहिलो हाफमै सर्जियो अग्वुइरोको पासमार्फत गोल गरेर उनले ३–० को अग्रता दिलाए । 

बोलिभियाका इर्विन साभेड्राले ६० मिनेटमा गोल फर्काउदै खेललाई ३–१ स्थितीमा ल्याए । तर, अर्जेन्टिनामाथि बोलिभियाले कुनै पनि समय दबाब भने बनाउन सकेन । ६५ मिनेटमा लाउटारो मार्टिनेजले अर्को गोल थप्दा अर्जेन्टिना ४–१ को अग्रता लिन सफल भयो । 

यस जीतसँगै अर्जेन्टिनाले तीन जीत र एक बराबरीसहित कोपा अमेरिका फुटबल प्रतियोगिताको समूह ‘ए’ मा शीर्ष स्थान हासिल गरेको छ । अर्जेन्टिनाले क्वाटरफाइनलमा इक्वेडरको सामना गर्ने निश्चित भएको छ ।

प्रतिक्रिया दिनुहोस