महिनौंदेखि फोहोर नउठ्दा सङ्क्रमणको त्रास

रासस

सोमबार, १४ असार २०७८, १४ : ४३
महिनौंदेखि फोहोर नउठ्दा सङ्क्रमणको त्रास

सोलुखुम्बु । सदरमुकाम सल्लेरी क्षेत्रको सुन्दरतामा ध्यान दिनुपर्ने स्थानीयवासीले बताएका छन् । बजार क्षेत्रमा निस्कने फोहर महिनौं दिनसम्म बीच सडकमै थुपार्दा दुर्गन्ध फैलिएको छ भने अव्यवस्थितरुपमा टाँगिएका तार, पाइप तथा पोलका कारण यस क्षेत्रको सौन्दर्यमा असर परिरहेको छ । 

बजार क्षेत्रमा थुपारिएको फोहोर व्यवस्थापन नहुँदा दुर्गन्ध फैलिएसँगै सङ्क्रमणको त्रास बढेको स्थानीयवासी राजीव कायस्थले बताए। यस बारेमा नगरपालिकामा पटकपटक जानकारी गराउँदा समेत कुनै पहल नभएको अर्का स्थानीयवासी मीनकुमार श्रेष्ठले बताए। फोहोर नउठ्दा नाक, मुख थुनेर हिंड्न बाध्य हुनु परेको भएको उनको भनाइ छ ।  गर्मी समय भएकाले कुहिने फोहोरका कारण बजार क्षेत्र दुर्गन्धित बनेको छ ।

विगतका दिनमा नगरपालिकाले गाडीबाट बजार क्षेत्रमा जम्मा हुने फोहर सङ्कलन गरी व्यवस्थापन गर्ने गरेको भएपनि लामो समयदेखि सो कार्य रोकिएको स्थानीयवासीको भनाइ छ ।

यससम्बन्धी गुनासो आएकाले तत्काल फोहोर व्यवस्थापन गरिने नगरपालिकाकी महिला कार्यकर्ता मुना खत्रीले बताए। चालक र सरसफाइकर्मीमा कोरोना सङ्क्रमण देखिएका कारण लामो समयसम्म फोहोर उठ्न नसकेको  बताउँदै उनले छिटै समस्या समाधान हुने छ भने । 

प्रतिक्रिया दिनुहोस