हुलाकी सडक : बलान र कमला नदीमा पुल निर्माण, सडक कालोपत्र तीव्र गतिमा

रासस

सोमबार, १४ असार २०७८, १३ : ५५
हुलाकी सडक : बलान र कमला नदीमा पुल निर्माण, सडक कालोपत्र तीव्र गतिमा

सिरहा । लामो समयको प्रतीक्षापश्चात् पूर्वपश्चिम हुलाकी राजमार्गअन्तर्गत सिरहाको बलान नदी र कमला नदीमा पुल निर्माण भएपछि स्थानीयवासी हर्षित बनेका छन् । हुलाक सडकअन्तर्गत सिरहा र सप्तरी जोड्ने बलान नदी तथा सिरहा र धनुषा जोड्ने कमला नदीमा पुल निर्माण भएर सञ्चालनमा आएपछि स्थानीयवासीमा उत्साह बढेको हो । 

विगत एक दशकदेखि निर्माणाधीन दुवै नदीको पुल निर्माण कम्पनीको लापरबाहीका कारण अलपत्र परेको थियो । उक्त दुवै पुल निर्माणका लागि पटकपटक स्थानीयवासीले धर्ना तथा अनशनसमेत बसेका थिए । 

निरन्तरको दबाब र धमाधम हुलाकी सडक कालोपत्र हुन थालेपछि निर्माण कम्पनीले पुल निर्माण अन्तिम चरणमा पु¥याएको सिरहाको भगवानपुरका स्थानीयवासी शिवदयाल यादवले जानकारी दिए । अहिले बलान खोलको पुल ९० प्रतिशत सम्पन्न भएकाले पुलमाथिबाट आवतजावतसमेत पुनः सञ्चालन भइसकेको उनको भनाइ छ । 

“पुल नहुँदा वर्षौदेखि वर्षायाममा सर्वसाधारणले जोखिमपुर्ण यात्रा गर्दै आएका थिए”, भगवानपुरका अर्का स्थानीयवासी सरोज साहले भने, “ढिलै भए पनि वर्षायामको शुरुआतमै पुल निर्माण करीब सम्पन्न भएका छन्, जसका कारण यस वर्ष आवातजावत सहज भएको छ ।” 

यस्तै निर्माण शुरु भएको करीब १० वर्षपछि सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीमा पनि पुल निर्माण अन्तिम चरणमा पुगेको छ । कूल ४७० मिटर लम्बाइ र ११ मिटर चौडाइको सो पुल निर्माणको करीब ९५ प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी पाँच प्रतिशत कामसमेत असार महिनाभित्रै सकिने ठेकेदार निर्माण कम्पनी पप्पु लुम्बिनी बिल्डर्सका इन्जिनीयर सूर्यप्रकाश शर्माले जानकारी दिए ।

निर्माण गरिएको पुलको रेलिङ निर्माण र फिनिसिङको काम भइरहेको जानकारी दिँदै इन्जिनीयर शर्माले यही महिनाभित्र लिङ्क रोडको कामसमेत सकिने बताए । साथै पुल नजीकै तटबन्ध निर्माण गरेर नदीको धारसमेत परिवर्तन गराइसकेकाले साउनबाट पुल पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी रहेको इन्जिनीयर शर्माको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस