बैंकिङ प्रणालीमा तरलता अभाव हुँदै, ब्याजदर बढाउन थालियो

रासस

सोमबार, १४ असार २०७८, ०७ : ३६
बैंकिङ प्रणालीमा तरलता अभाव हुँदै, ब्याजदर बढाउन थालियो

काठमाडौं । निक्षेप संकलनको तुलनामा कर्जा प्रवाहमा बैंक तथा वित्तीय संस्थाहरु आक्रामक भएपछि बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) घट्दै गएको छ ।

कर्जा प्रवाह उच्च भएपछि वाणिज्य बैंकहरुको ऋण पुँजी र निक्षेप (सीसीडी) अनुपात ८० प्रतिशतको नजिक पुगेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सीसीडी अनुपात ८५ प्रतिशतसम्म राख्न पाउने व्यवस्था गरेको छ ।

तर, कोरोना प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न दिइएको नीतिगत सहुलियत लामो समयसम्म निरन्तरता दिन नसक्ने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक कार्यक्रममा बताउँदै आएका छन् ।

राष्ट्र बैंकका अनुसार बिहीबारसम्ममा बैंकहरुको औसत सीसीडी अनुपात ७८.५५ प्रतिशत पुगेको छ । यसको अर्थ तरलता अभाव बढ्दै छ । जसका कारण बैंकहरुले छोटो अवधिका लागि लिने अन्तर बैंक सापटीको व्याजदर पनि ५ प्रतिशत नजिक पुगेको छ । एक वर्षअघि अन्तरबैंक दर एक प्रतिशत भन्दा कममा झरिसकेको थियो ।

तरलताको अभाव हुन थालेपछि बैंकहरुले व्याजदर वृद्धि गरेर निक्षेप आकर्षित गर्न समेत थालेका छन् । पछिल्लो समय सिभिल, सेन्चुरीलगायतका बैंकले मुद्दति निक्षेपको व्याजदर वृद्धि गरेका छन् ।

कोरोना महामारीमा कर्जा विस्तार गर्नु जोखिम हुन्छ भनिए पनि बैंकहरुले जोखिम लिएरै कर्जा प्रवाह गरेको र यसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले बताए । कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस