माइक्रोले पिकअप भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा ३ जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, १३ असार २०७८, १२ : ५६
माइक्रोले पिकअप भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा ३ जनाको मृत्यु

विराटनगर । सुनसरीमा आइतबार बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। कोशी गाँउपालिकास्थित नङ्खु टोलस्थित पूर्वपश्चिम राजमार्ग आइतबार बिहान माइक्रोले पिकअप भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको हो।

सुनसरी प्रहरी कार्यालयका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.३ ख ७२२४ नम्बरको माइक्रोले विपरीत दिशाबाट आउँदै गरेको स.६ प ४६६१ नम्बरको मोटरसाइकल र को. १ च ९३६८ नम्बरको पिकअप गाडीलाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक सप्तरी डाक्नेश्वरी ५ का २८ वर्षीय उदय साह, मोटरसाइकल पछाडि सवार मोरङ विराटनगर–९ का ४५ वर्षीय रामप्रसाद साह र पिकअप चालक विराटनगर–७ का ४० वर्षीय अक्षयकुमार गुप्ताको जिल्ला अस्पताल ईनरुवा उपचारको क्रममा मृत्यु भएको विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रदेश प्रहरी प्रवक्ता श्रेष्ठका अनुसार दुर्घटनाबाट घाइते भएका माइक्रोका चालक नुवाकोट बिदुर नगरपालिका–१३ का ३५ वर्षीय विवस तामाङ् र सह–चालकको २५ वर्षीय नारायण बत्सयालको विराटनगरस्थित विराटनगर अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटना भएका तीन वटै सवारी साधन प्रहरीको नियन्त्रणमा छन् ।

प्रतिक्रिया दिनुहोस