जेसिबीको बकेटले टाउको र छातीमा हिर्काएर सर्लाहीमा वडाध्यक्षको हत्या

सफल खबर संवाददाता

शनिबार, १२ असार २०७८, १० : ५६
जेसिबीको बकेटले टाउको र छातीमा हिर्काएर सर्लाहीमा वडाध्यक्षको हत्या

सर्लाही । सर्लाहीमा वडाध्यक्ष सूर्य कुमार श्रेष्ठको हत्या भएको छ । जिल्लाको ईश्वरपुर नगरपालिका–३, भक्तिपुरका वडाध्यक्ष सूर्य कुमार श्रेष्ठको हत्या भएको हो । वडाध्यक्ष श्रेष्ठको शुक्रबार राती जेसिबी चालकसँग विवाद भएपछि जेसिबीले ठक्कर दिई हत्या गरिएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ । भक्तिपुरमा केही दिनदेखि पुरानो सरकारी पोखरी खनेर स्तरोन्नतिसंगै सौन्दर्यकरण गर्ने काम भइरहेको थियो ।

गए राती वडाध्यक्ष श्रेष्ठ, जेसिबीका ठेकेदार प्रेमराज दाहाल र जेसिबी चालक रविन भन्ने हर्क बहादुर तामाङले नजिकैको होटलमा सँगै बसेर खाजा खाएका थिए । खाजा खाएर फर्किने क्रममा जेसिबीका चालक तामाङसँग वडाअध्यक्ष श्रेष्ठको विवाद भएको थियो । 

विवाद गर्दा गर्दै पोखरी खनेको स्थानमा पुगेपछि चालक तामाङले जेसिबी चलाएर वडाध्यक्ष श्रेष्ठलाई जेसिबीको बकेटले ठक्कर दिएर लडाई त्यसपछि माटोले पुरेको पाइएको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौरले जानकारी दिएका छन् । 

जेसिबी चालक तामाङले बकेटले वडाध्यक्षको टाउको र छातीमा प्रहार गरेर हत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।  घटनाबारे जानकारी पाउनासाथ तत्कालै प्रहरी टोली घटनास्थलमा पुगेर अचेत अवस्थामा रहेका वडाध्यक्ष श्रेष्ठलाई जिल्ला अस्पताल मलङ्गवा पु¥याएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा जेसिबीका ठेकेदार ईश्वरपुर नगरपालिका–३, कै ३५ वर्षीय प्रेमराज दाहाल र जेसिबीका चालक बरहथवा नगरपालिका–१, का ३८ वर्षीय रविन भन्ने हर्क बहादुर तामाङलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुवैजनालाई अहिले जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखिएको छ । मृतक अन्जादी ५५ वर्षीय वडाध्यक्ष श्रेष्ठको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवामा राखिएको छ । 

प्रतिक्रिया दिनुहोस